Shikhar Insurance
National Life

कृषि पेसामा रमाएका खड्का दम्पती

सिंहदरबार संवाददाता
२०८० पुष ४, बुधबार १७:०९
Hyundai
NCELL
NIMB

त्रिवेणी । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ जुगेपानीका चन्द्रबहादुर खड्का र उनकी श्रीमती लालकुमारीले खड्का कृषि पेसामा रमाएका छन् । ५२ वर्षीय चन्द्रबहादुर ३७ वर्षको हुँदादेखि कृषि पेसामा आवद्ध छन् ।

अहिले पनि उनको कृषि पेसा प्रतिको जागर र लगाव देख्दा युवाअवस्थाको भन्दाकम छैन् । खड्का दम्पतीले खाना बस्न भन्दा पनि बारीमा उत्पादित तरकारी र फलफुलको बढी चिन्ता लाग्ने गरेको सुनाउँछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुन्तला टिप्ने सिजन आएकाले कामको चाप झन बढेको चन्द्रबहादुरले बताए। “बगैँचा नजिकै एउटा सानो बस्न मिल्ने घर छ । जाडोको समय यहाँ रातभर बस्न सकिँदैन, त्यसैले ११/१२ बजेतिर आएर कसैले सुन्तला चोरी गरेका छन्÷छैनन् हेरेर जान्छु । अहिले सिजन भएकाले बारीको रेखदेख गर्नुपर्छ”, उनले भने।

चन्द्रबहादुरको बारीमा तरकारीका साथै विभिन्न प्रकारका फलफुल खेती हुने गरेको छ । उनको बारीमा प्रवेश गर्नेलाई वरपरको वातावरण अवलोकन गर्दा आनन्द महसुस हुने स्थानीय बताउँछन् । बारीमा सुन्तला बगैँचाका साथै अमिलो, कागती, अलैँची, टिमुर, काठको मुढामा उत्पादन हुने सिताके च्याउ, गोलभेँडा, बन्दागोभी फूलगोभी, खुर्सानी तथा विभिन्न घाँस र फलफुलका नर्सरी राखेर बिक्री गर्ने गरिएको उनले बताए।

“विगत १५ वर्षदेखि कृषि पेसामा आवद्ध छौँ । पहिले सानो छँदा बाबाले थोरै जग्गामा सुन्तला लगाउनु भएको थियो । बाबाले लगाएको सुन्तलाको उत्पादन देखेर व्यावसायिक रुपमा सुन्तला खेती गर्ने हौसला मिलेको हो”, चन्द्रबहादुरले भने, “मेरो काममा श्रीमतीले सधैँ साथ छ । काम विशेषले घरबाहिर घुम्न जान्नुपर्यो भने खेतबारी तथा बगैँचाको रेखदेख श्रीमतीले गछिन्।”

खड्का दम्पतीको सात जनाको परिवारमा दुई छोरीको विवाह भइसकेको छ । एक छोरी र एक छोरा पढाइको सिलसिलामा जिल्ला बाहिर बस्छन् भने एक छोराले रोजगारी गर्छन् ।

कृषि पेसामा निकै खुसी मिलेको चन्द्रबहादुरको भनाइ थियो । “कान्छो छोराले अमेरिका जान्छु भनिरहन्छ । म नेपालमै बसेर स्वरोजगार बन्न सकिन्छ भनेर नपठाउने योजनामा छु । म दुवै  छोरालाई विदेश पठाउँदैन् । स्वदेशमै दुःख गरेर कमाउन सकिन्छ । उनीहरुलाई पनि व्यावसायिक कृषि पेसामा आवद्ध गराउने हो”, उनले भने। खड्काकी श्रीमती लालकुमारीले पनि छोराहरुले अर्काको देशमा दुःख पाउनु भन्दा आफ्नै ठाउँमा केही न केही गरेको हेर्ने रहर भएको सुनाइन्।

मनै लोभ्याउने सुन्तला बगैँचा 

विसं २०६२ देखि व्यावसायिक सुन्तला खेती गरेका खड्काको बारीमा अहिले तीन हजार ६ सय सुन्तलाका बोट छन् । जसमध्ये करिब पाँच सय बोटले फल दिन सुरु गरिसकेका छन् । अन्य साना बोटले पनि दुई वर्षभित्र फल दिन सुरु गर्ने चन्द्रबहादुरले बताए। गतवर्ष ३६ क्विन्टल सुन्तला उत्पादन भएकामा यस वर्ष राम्रो फल लागेकाले ५० क्विन्टल बिक्री गर्ने योजना रहेको उनको भनाइ थियो ।

गतवर्ष सुन्तला बिक्रीबाट तीन लाख ७५ हजार कमाइ भएको जनाउँदै चन्द्रबहादुरले यस वर्ष दोब्बर आम्दानी हुने आशा गरिएको बताए। बारीबाटै ४५ देखि ५० सम्म प्रतिकिलो  बिक्री हुने गरेको उनले बताए। उनका अनुसार सुन्तला खरिद गर्न दाङ, सल्यानलगायत स्थानबाट व्यापारी आउने गरेका छन् ।

चन्द्रबहादुरले अलैँची, अमिलो, टिमुरलगायत फलफूलबाट पनि उत्तिकै आम्दानी गरेका छन्। गत वर्ष अलैँची चार क्विन्टल भन्दा बढी अर्थात चार सय सात किलो बिक्री गरेर ५ लाख आम्दानी गरेको सुनाए। अलैँची पनि गाउँबाटै प्रतिकिलो एक हजार तीन सयमा बिक्री हुने गरेको उनको भनाइ थियो ।

हिउँदे तरकारीबाट तीन लाख र फूलफूलका (कागती, सुन्तला, अमिलो, डाले घाँस) नर्सरी बिक्रीबाट १७ लाख, खसीबोका बिक्रीबाट वार्षिक तीन लाख ५० हजार आम्दानी हुने गरेको चन्द्रबहादुरले जानकारी दिए। उनका अनुसार वार्षिक ३५ देखि ४० लाखसम्म आम्दानी हुने गरेको छ ।

चन्द्रबहादुरले ६२ रोपनीमा सुन्तला खेती विस्तार गरेका छन् । बाँकी रहेको पाखो पारीमा पनि थप खेती विस्तार गर्ने योजना रहेको उनले बताए। आफूले व्यावसायिक रुपमा कृषि पेसा गरे पनि वास्तविक कृृषि पेसामा आवद्ध किसानले अनुदानका कार्यक्रम नपाउने गरेकामा उनले दुखेसो पोखे।

अनुदानका कार्यक्रम आए पनि पहुँचवालालाई मात्र सम्मेटने गरिएको चन्द्रबहादुरको गुनासो थियो । धेरै मेहनतपछि कृषि विकास कार्यालय रुकुमपश्चिमबाट ५० प्रतिशत अनुदानमा एउटा टनेल, सिँचाइ पोखरी र बाख्रापालनको लागि भकारो सुधार कार्यक्रमअन्तर्गत अनुदानमा पाएको उनले जानकारी दिए।

एकजनालाई रोजगारी 

परिवारका सदस्यले मात्र घर तथा कृषि क्षेत्रको काम तथा बारीको रेखदेख गर्न नसकिने भएपछि खड्का दम्पतीले एकजनालाई वार्षिक रुपमा रोजगारी दिएका छन्। मासिक १२ हजारका दरले एक जना कामदारले काम गरिरहेको उनले बताए। कामको चाप बढेकाले थप कामदार राख्ने योजना बनाइएको उनको भनाइ थियो।

“वार्षिक एकजना कामदार लगाए पनि सुन्तला टिप्ने सिजनमा भने एक हप्तासम्म १० जना भन्दा धेरै कामदार लाग्ने गरेका छन्”, चन्द्रबहादुरले भने। अलैँची खन्ने सिजनमा पनि थप कामदार लगाउने गरेको उनले बताए। ग्रामीण सडक व्यवस्थित नहुँदा उत्पादन भएका तरकारी तथा फलफूल सडकसम्म पु¥याउन समस्या हुने गरेको उनको भनाइ थियो ।

सोही ठाउँका किसान टेकबहादुर खड्काले पनि सुन्तला र अलैँची मनग्य उत्पादन हुने गरेको बताए। गत वर्ष २५ क्विन्टल सुन्तला र दुई सय ४० किलो अलैँची बिक्री गरेर पाँच लाख आम्दानी गरेको उनले बताए।

वडामा छैन तथ्याङ्क

किसानले उत्पादन तथा बिक्री गर्ने कृषिजन्यवस्तुको वडा कार्यालयले कुनै तथ्याङ्क राखेको छैन् । वडामा किसानले धेरै मात्रामा सुन्तला तथा अलैँची व्यावसायिकरुपमा खेती गर्ने गरे पनि कार्यालयले यकिन तथ्याङ्क नराख्दा कति रकम भित्रियो भन्ने विवरण नभएको हो।

वडाका धेरै किसानले सुन्तला, अलैँची तथा अन्य तरकारी लगाउने गरेपनि यसको विवरण नरहेको वडा अध्यक्ष नन्नराम बाँठाले बताए। “किसानले उत्पादन गरेको कृषिजन्यवस्तु आफैँ बिक्री गर्ने गरेका छन् । कति उत्पादन हुन्छ ? कति बिक्री गर्नुहुन्छ यसको वडामा विवरण छैन्”, उनले भने। उत्पादन गरिएका वस्तुको बजार व्यवस्थापन तथा अन्य समन्वयलगायत काममा वडाले सहयोग नगरेको उनको भनाइ थियो ।

एउटै वडाबाट एक करोड २० लाखको सुन्तला बिक्री

त्रिवेणी गाउँपालिकाको कृषि शाखा कार्यालयले भने ४ नं वडाका किसानले मात्रै गतवर्ष एक करोड २० लाखको सुन्तला बिक्री गरेका जनाएको छ । शाखा प्रमुख रमेश पुनका अनुसार वडामा व्यावसायिक सुन्लता खेती गर्ने ५० घरधुरी छन् ।

प्रत्येक किसानले पाँच रोपनी भन्दा बढी जग्गामा खेती गर्ने गरेका छन् । पाँच रोपनीमा ४० देखि ४८ क्विन्टल सुन्तला उत्पादन हुने गरेको पुनले जानकारी दिए। उनका अनुसार वडामा चार सय रोपनी अर्थात २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।

गतवर्ष वडामा दुई हजार चार सय क्विन्टल सुन्तला उत्पादन भएको थियो । यसवर्ष सुन्तलाले फल राम्रो दिएकाले गतवर्ष भन्दा बढी उत्पादन हुने अनुमान गरिएको पुनको भनाइ थियो । गाउँबाटै प्रतिकिलो ५० का दरले व्यापारीले सुन्तला खरिद गर्ने गरेका भन्दै किसानलाई बजारको समस्या नरहेको कृषि शाखा प्रमुख पुनले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्