पाटन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको भूमिका जवाफदेही, पारदर्शी र नागरिकमैत्री हुनुपर्ने बताएका छन्। आज ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहका क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताउँदै नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही पारदर्शी र नागरिकमैत्री हुनुपर्छ।
“नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही पारदर्शी र नागरिकमैत्री हुनुपर्छ, समग्र स्थानीय सरकारको विश्लेषण गर्दा त्यो जिम्मेवारी जवाफदेही पूरा गर्न सफल भएकामा ललितपुर महानगरपालिकाका जनप्रतिनिधिसमेत सम्पूर्ण परिवारमा धन्यवाद ज्ञापन गर्दछु”, प्रधानमन्त्री दाहालले भने।
उनले ललितपुर महानगरपालिकाले मूर्त र अमूर्त सम्पदा संरक्षणमा लिएको चासो र गरेको चिन्तन प्रशंसनीय रहेको धारणा राख्दै उनले महानगरभित्र निर्माण भइरहेका देवालय, शिवालय यसका ज्वलन्त उदाहरण भएको बताए।
प्रधानमन्त्रीले संस्कृतिलाई आयआर्जनसँग जोड्ने काममा विशेष ध्यान दिनु जरुरी छ भन्दै पर्यटन प्रवद्र्धनमा ललितपुर महानगरको अग्रणी भूमिका रहेको बताए। उनले विकास निर्माण र सेवा प्रवाहका सन्दर्भमा महानगर विवादरहित ढङ्गले बढिरहेकामा खुसी व्यक्त गरे।
सङ्घीयता भनेको सङ्घ मात्रै होइन, सङ्घसँगै प्रदेश र स्थानीय तह पनि हो भन्दै प्रधानमन्त्री दाहालले सङ्घीय निजामती ऐन ल्याएर प्रदेश र स्थानीय तहलाई बलियो बनाउन आफू लागिपर्ने जानकारी गराए।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सङ्घीयताको कार्यान्वयनमा सङ्घीयताको मर्मअनुरुप संविधानले समन्वय सहकार्य र सहअस्तित्वको व्यवस्था गरेको र मिलेर विकास निर्माण गर्नुपर्ने धारणा राखे।
उनले उपत्यकालाई धुलोरहित बनाउन र यातायातको व्यवस्था सहज बनाउन लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे। ललितपुर क्षेत्र नं २ बाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर महर्जनले ललितपुरलाई सांस्कृतिक महानगरका रुपमा विकास गर्न धेरै काम गर्न बाँकी रहेको बताए।
त्यसैगरी बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले जनताको समस्या समाधानका लागि महानगरले गरिरहेका कामको प्रशंसा गर्दै वातावरण सुधारदेखि संस्कृति सम्पदा संरक्षणमा गरेको काम उत्कृष्ट रहेको धारणा राखे।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं र ललितपुर दुई परस्पर सम्बन्ध भएका महानगर रहेको बताउँदै दुवै महानगरको विकास समानान्तररुपमा अगाडि बढ्नुपर्ने बताए।
उनले स्थानीय तहका अधिकारसम्बन्धी केही कुरा सङ्घीय कानुनमा बाझिएका प्रष्ट गर्दै यसलाई सहजीकरण गरेर समाधान गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरे। ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले विकास निर्माण र सेवा प्रवाहका सन्दर्भमा नेपाल सरकारसँग हातेमालो गर्दै आइरहेको जानकारी दिँदै धेरै ललितपुर महानगर धेरै कुरामा राम्रो काम गर्न सफल भएको धारणा राखे। उनले ग्वार्कोको फ्लाइओभरको व्यवस्थापन नहुँदा उपत्यकाकै ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै ग्वार्को, सातदोबाटो, एकान्तकुनाका तीनवटै फ्लाइओभर एकै पटक बनाउन प्रधानमन्त्रीसँग आग्रह पनि गरे।
संविधानसभा सदस्य तथा पूर्वनगर उपप्रमुख चन्द्र महर्जन स्मार्ट स्टेटलाइट, संस्कृति सम्पदा संरक्षणमा ललितपुर महानगरले गरेको कामको जनताले प्रशंसा गरिरहेको बताए। उनले संविधानका बारेमा जनतामा चेतना जगाउन विद्यार्थीमा जानकारी गराउनुपर्ने र पाठ्यक्रममा समेटिनुपर्ने धारणा राखे।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरवासीलाई पानीको व्यवस्था गर्न र यहाँबाट उत्पन्न हुने फोहरमैलाको व्यवस्थापनका लागि सहयोग र सहजीकरणका लागि प्रधानमन्त्रीलाई आग्रह गरे ।
विसं २०७८ को जनगणनाअनुसार ललितपुर महानगरको जनसङ्ख्या दुई लाख ९४ हजार ९८ छ । ‘ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा पूर्वाधार’ भन्ने नारासहित सेवा प्रदान गर्दै आएको महानगरले आजदेखि आफ्ना नागरिकको स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । प्रधानमन्त्रीले आपाङ्गता भएका दुई व्यक्तिलाई स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरेसँगै यो कार्यक्रमको सुभारम्भ भएको हो ।
विसं १९७५ पुस २ गते सरसफाइ अड्डाका नामबाट स्थापित सरकारी कार्यालय पछि नगरपालिका र उपमहानगरपालिका हुँदै विसं २०७३ चैत १० गते ललितपुर महानगरपालिकामा परिणत भएको थियो।
प्रतिक्रिया दिनुहोस्