महोत्तरी । खेती लगाउने बेला बीउ पाएपछि मटिहानी नगरपालिकाका गहुँ खेती गर्ने किसानलाई राहत मिलेको छ । खेती लगाउने बेला नगर कार्यपालिकाको कृषि शाखाले बीउको गहुँ उपलब्ध गराएपछि नगरक्षेत्रका किसानले राहत महसुस गरेका हुन् ।
“खेतीका बेला बीउ, मल नपाएर हैरान भइन्थ्यो, पछिल्ला दुई/ तीन वर्षदेखि समयमै पाइएको छ”, मटिहानी ९ सिमरदहीका किसान गोपाल मण्डलले भने, “यति सुविधाले पनि धेरै सजिलो महसुस गरेका छौँ ।” नगर कार्यपालिकाको कार्यालयले नगरक्षेत्रका नौ सय किसानलाई १० किलोग्राम उन्नत जातको गहुँको बीउ उपलब्ध गराइएको जनाएको छ । यो परिमाण करिब चार कठ्ठा जग्गालाई पुग्ने बीउ भएको कृषि शाखाका प्रमुख टङ्कप्रसाद उपाध्यायले बताए ।
किसान मण्डलजस्तै सो बस्तीकै राजेश चौधरी, मटिहानी ५ का रामकुमार यादव र राजेश महतोले पनि समयमा गहुँको बीउ पाएपछि दुःखसुखमा हेर्ने निकाय नगरपालिका रहेछ भन्ने पर्ने गरेको बताए ।
मटिहानी नगर कार्यपालिकाले आफ्नो क्षेत्रको कृषि उत्पादन बढाउन विभिन्न मौसमी बालीको समयमा बीउ, मलदेखि अन्य प्रविधिसमेत किसानलाई सुविधा दिँदै आएको जनाएको छ । “हाम्रो नगरको मुख्य आधार नै कृषि हो, त्यसैले विभिन्न बाली लगाइने बेला किसानका लागि खासखास प्याकेजको सहयोग गर्दै आएका छौँ”, नगर प्रमुख हरिप्रसाद मण्डल भने ।
नगर कार्यपालिकाको कार्यालयले पछिल्ला तीन÷चार वर्षयता निरन्तर कृषि प्रवद्र्धनमा जोड दिँदै आएको किसानले बताएका छन् । धान, गहुँँ र मौसमी तरकारीको बीउ समयमा पाउँदा निकै राहत मिलेको मटिहानी ५ का किसान नागेन्द्र यादव बताउछन् ।
नगर कार्यपालिकाको कार्यालयले यसअघि स्यालोट्युबवेल जडान गरी ३० किसानलाई मोटर पम्पसेट उपलब्ध गराएको थियो । यसले हलुका सिँचाइमा हुने बाली हुर्काउन सहज भएको किसानको भनाइ छ । “स्यालोट्युबवेल जडान र मोटर पम्पसेट भएपछि हलुका सिँचाइमा हुने बाली लगाइन पाइने भएको छ”, मटिहानी २ का किसान जैश शेषले भने, “यतिले पनि गरेर खान बाटो दियो ।”
नगरका नौवटै वडाका बस्तीमा वैकल्पिक सिँचाइ व्यवस्थाका लागि आवेदन गरेका किसानलाई स्यालोट्युबवेल जडान र मोटर पम्पसेट खरिदमा नगर कार्यपालिकाको कार्यालयले कूल लागतमा ८५ प्रतिशत र सम्बन्धित किसानले १५ प्रतिशत रकम लगाएका थिए । यसैगरी नगर कार्यपालिकाको कार्यालयले यसअघि फलपूmल रोपण, मखान बजार व्यवस्थापन सहयोगी सामग्री, दाईं गर्ने यान्त्रिक उपकरण र कृषि ज्यावल किसानलाई उपलब्ध गराएको थियो ।
नगर कार्यपालिको कार्यालयले पछिल्ला पाँच वर्षयता बर्सेनि मौसमअनुसार बाली लगाउन बीउ, कृषि ज्यावल, जैविक मलसहितका सामग्री दिँदै आएको छ । यो क्रमले आपूmहरुजस्ता गरिब किसानलाई निकै राहत मिलेको मटिहानी ६ का मेराज अन्सारीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्