काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीलाई कर्जा प्रवाह गर्दा ऋणीसँग ब्याज बाहेकका अन्य शुल्कहरु लिन नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७०(चौथो संशोधन, २०८०) जारी गर्दै त्यस्ता कम्पनीहरुले सेवाग्राहीसँग ब्याज बाहेकका अन्य शुल्कहरु लिन पाउने व्यवस्था गरिदिएको हो ।
त्यस्तै, अब २५ लाख भन्दा ठूलो हायर पर्चेज कर्जा लिनेहरुले अनिवार्य रुपमा प्यान नम्बर लिएको हुनुपर्नेछ । साथै कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको हो । पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
त्यस्तै, कम्पनीको ब्याजदर निर्धारण सम्बन्धमा आवश्यक देखिएमा समय समयमा त्यस्तो ब्याजदर सम्बन्धी नीतिगत व्यवस्था गर्न सक्ने राष्ट्र बैंकले संशोधन गरेको व्यवस्थामा उल्लेख छ । यस्तै, हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीलाई आफ्नो नामको पछाडि हायर पर्चेज प्राइभेट लिमिटेड (प्रा. लि.) तथा लिमिटेड (लि.) राख्न निर्देशन दिएको छ । हायर पर्चेज ऋण दिने कम्पनीहरुले कम्तिमा स्नातक तह उतिर्णहरुलाई मात्रै सीईओ वा प्रबन्ध सञ्चालक नियुक्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्