चितवन । भरतपुर महानगरपालिका ७ का शम्भु सुवेदीको कृषि फार्ममा एउटै ड्रागन फल एक किलो ६४ ग्रामको फलेको छ । कृषि फार्म सञ्चालन गर्दै आएका सुवेदीले पहिलो पटक यति ठूलो फलेको बताए ।
आइतबार साँझ आफ्नो फार्ममा फल टिपेर जोखेपछि उत्साहित हुँदै उनले भने, “एक किलो पुग्दैन कि भन्ने थियो, अझै बढीको भयो । निकै खुसी छु । योभन्दा पनि ठूलो अर्को फल पाक्न लागेको छ । आवश्यक मलजल र स्याहार पु¥याउन सक्यो भने दुई किलोसम्म फलाउन सकिन्छ ।”
सुवेदीले एक हेक्टर जमिन भाडामा लिएर तीन वर्ष यतादेखि ड्रागन फलको खेती गर्दै आएका छन् । यस वर्ष हालसम्म रू आठ लाख बराबरको बिक्री गरिसकेको उनले जानकारी दिए । फल फल्नेक्रम जारी रहेको भन्दै उनले यस वर्ष फल र बिरुवा गरेर रू २० लाखको बिक्री गर्ने योजना रहेको बताए ।
”यस वर्ष रू सात/आठ लाखको बिरुवा पनि बिक्री गर्ने योजनामा छु ।” भाँचिएका हाँगासमेत उपयोग गरेर बिरुवा तयार गर्न सकिन्छ”, सुवेदीले भने , “मेहनत ग¥यो भने एक वर्षमा एक हेक्टर जमिनमा रू २० लाखको ड्रागन बेच्न सकिन्छ । यसबाट रू आठ लाख हाराहारी बचत हुन्छ ।” गत वर्ष रू १६ लाखको ड्रागन फल र बिरुवा बिक्री गरेको उनले बताए ।
पहिलो वर्ष पाँचरछ महिनापछि नै उत्पादन लिन थालेको बताउँदै सुवेदीले अहिले ड्रागन लगाएको ठाउँमा सयपत्री फूल, बदाम, भटमाससमेत लगाएको जानकारी दिए । “यसै महिनादेखि जिरा पनि लगाउँदै छु । नेपालमा बर्सेनि रू २७ अर्बको जिरा आयात हुन्छ”, उनले भने ।
सुवेदीले फार्ममा उत्पादन भएको ड्रागनलाई प्रतिकिलो रू चार सयदेखि छ सयसम्ममा आकारका आधारमा बिक्री गर्दै आएका छन् ।
व्यावसायिकरुपमा काम गर्न सरकारी अनुदान प्राप्त भएको सुवेदीले बताए । झण्डै रू ६० लाख लगानी गरेको बताउदै उनले रू १५ लाख अनुदान पाएको प्रस्ट पारे । । योसँगै रू छ लाख बराबरको सरकारी निकायबाट बोरिङ राखिएको उनको भनाइ थियो ।
आफ्नो जीवनको अधिकांश समय नेपाली राजनीतिमा बिताएका सुवेदीको अहिलेको दिनचर्या ड्रागन फ्रुट्स खेतीमा बित्ने गरेको छ । बिरुवा उत्पादनदेखि बिक्रीसम्मको काम उनले गर्दै आएका छन् । रोजगारीको सिलसिलामा युवा विदेश पलायन हुँदै गर्दा व्यावसायिक कृषि गरे यही सम्भव छ भन्ने देखाएका छन् ।
सुवेदीले मलेसियाबाट एक हजार, भियतनामबाट दुई हजार र भारतको राजस्थानबाट दुई हजार गरी पाँच हजार बिरुवाबाट खेती सुरु गरेको जानकारी दिए । विदेशमा यस फलबाट वाइन, साबुन, स्याम्पु, टुथपेष्ट, फेस क्रिमजस्ता मानव जीवनमा आवश्यक प्रशोधित सामग्रीको उत्पादन हुने गरेको उनले बताए । यस खेतीमा एकपटकमा लगानी गरे पछि २५ वर्षसम्म उत्पादन लिन सकिने छ ।
वर्षमा १५ देखि २० पटकसम्म एउटै बोटबाट उत्पादन लिन सकिने यो फल विशेषगरी जेठदेखि कात्तिकसम्म उत्पादन हुने गर्दछ । यहाँको उत्पादन स्थानीय बजार, काठमाडौँ, पोखरालगायतका सहरमा पुग्ने गरेको छ । सुवेदीले उद्योग सङ्घको शनिबारे हाटबजार र फार्मबाटै बिक्री गर्दै आउका छन् ।
प्रतिक्रिया दिनुहोस्