काठमाडौं । सोमबार नेप्सेमा करेक्सन आएको छ। गत तीन कारोबार दिनमा राम्रो अंकले नेप्से बढेकाले बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा करेक्सन आएको हो। यसदिन नेप्से परिसूचक ११.२७ प्रतिशतले घटेर १८९६.६७ बिन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७५५ रूपैयाँमा सीमित भएको छ। यस दिन २९० वटा धितोपत्रको ६० लाख १७ हजार ३९७ कित्ता सेयर किनबेच भएको हो। सोमबार अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३४७ रूपैयाँ ६० पैसा पुगेको छ।
यस्तै, अभियान लघुवित्तको सेयर मूल्य ७.७२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६३३ रूपैयाँ ४० पैसा पुगेको छ । िसेयर मूल्य सर्वाधिक घट्नेमा स्वाभिमान लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ८.०४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८८५ रूपैयाँमा झरेको छ।
यस्तै, एनआइसी एशिया ब्यालेन्सड् फण्डको इकाइ मूल्य ५.६८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८ रूपैयाँ ३० पैसामा सीमित भएको छ। सोमबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता २८८ रूपैयाँमा ७ करोड ७७ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.८१ प्रतिशतले घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४६६ रूपैयाँ १० पैसामा ७ करोड ६० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन, लगानी, म्युचुअल फण्ड र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो।
यसदिन लगानी समूहको परिसूचक सर्वाधिक ०.४९ प्रतिशतले बढेको छ।
प्रतिक्रिया दिनुहोस्