काठमाडौं । पश्चिमी वायुको प्रभावले संघीय राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहेको छ ।
उनले पश्चिमी वायुको प्रभावले आज दिनभरजसो देशका अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली रहने बताए। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
“आज देशभर नै आंशिकदेखि सामान्य बदली रहने देखिएको छ । अहिले कोशी र बागमती प्रदेशमा आंशिक बदली रहेको छ। विशेषगरी देशका पश्चिमी भेगमा बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ”, मौसमविद् लामिछानेले भने।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।आज दिनभर बदली रहे पनि भोलिदेखि मौसम क्रमिकरुपमा सुधार आउने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्