काठमाडौं । सुर्य नेपालका भाइस चेयरमेन रबि केसीले चाहेर पनि असल करदाता बन्न नपाएको गुनासो गरेका छन् । राष्ट्रिय कर दिवस समापन समारोहमा उत्कृष्ठ करदाताको सम्मान ग्रहण गरेपछि आफ्नो धारणा राख्दै कर कानुन र प्रशासनका कारण चाहेर पनि असल करदाता बन्न कठिन भएको टिप्पणी गरेका हुन् ।‘चार बर्ष अघिको कर चुक्ता गरेको फाइल नयाँ हाकिम आएपछी फेरि खोलेर अर्को चार बर्ष दुःख दिन्छन् । हामी असल करदाता बन्छौ भन्दा पनि नसकिने अवस्था छ ।’, सुर्य नेपालका भाइस चेयरमेन केसीले भने ।
उनले धेरै कर तिरेर सम्मान पाउने करदाताहरुले सहज रुपमा सिंहदरबार प्रवेश समेत नपाएको गुनासो पनि गरे । ‘हामी ठुला करदाता तर सिंहदरबार प्रवेश गर्न पाउँदैनौ, धेरै कर तिर्ने हामीलाई कम्तीमा एक बर्षका लागि सिंहदरबार छिर्ने परिचय पत्र चाहियो ।’, केसीले भने । उनले करको करको दर होईन, दायरा वृद्धि गरिनु पर्छ भन्ने माग पनि अघि सारे ।
नेपालको कर नीति ठिक छ, स्वेच्छाचारीताले काम गर्दैन, प्रणाली छ भन्ने विश्वास विदेशी लगानीकर्ताहरुमा जगाउनुपर्नेमा पनि उनले जोड दिए । ‘करदाता लाई प्रोत्साहन गरौं । नेपालमा स्वेच्छाचारी कर नीति छैन, प्रणालीले काम गर्छ भन्ने सन्देश दिएर बिदेशी लगानी कर्तालाई आस्वस्त पारौं ।’, केसीले भने ।
प्रतिक्रिया दिनुहोस्