काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजोका दिनमा जग्गा र सेयरमा धेरै ऋण प्रवाह हुँदा समस्या देखिएकाे अर्थतन्त्र अहिले विस्तारै सकारात्मक दिशामा गइरहेको बताएका छन् ।
मध्यपुर थिमि नगरपालिकाले शंखधर साख्वा दिवसकाे अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले हिजोका दिनमा जग्गा र सेयरमा बढी ऋण प्रवाह भएकाले त्यसबाट प्रतिफल नआउँदा अर्थतन्त्रमा समस्या आएको उल्लेख गरेका हुन् ।
‘हिजोको दिनमा धेरै ऋण प्रवाह गरियो, धेरै मानिसले जग्गा र सेयरमा लगानी गरे । यसैको प्रतिफल हो, हातमा नगद छैन, ऋण तिर्न धौधौ परेको छ’ मन्त्री डा. महतले भने, ‘जसले धेरै ऋण लिएका थिए, ऊ नै किन तिर्ने ऋण भन्दै हिडिरहेका छन् । दुरुपयोग गर्नेको कुरा छाडौं, तर कोही गर्दागर्दै पनि साँच्चिकै समस्यामा परेका छन् । जो काम गर्न खोज्दाखोज्दै विविध परिस्थितिले अप्ठ्यारोमा परे त्यसलाई राज्यले हेर्नेछ । ऋण लिने, दस ठाउँमा लगानी गर्ने र खाने तर तिर्दिन भन्न चाहिँ पाइँदैन ।’
उनले अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गैरहेको दावी पनि गरे । ‘हाम्रो अर्थतन्त्र विस्तारै सकारात्मक दिशामा गइरहेको छ । विप्रेषण आइरहेको छ, अहिले पर्यटक सबैभन्दा धेरै आइरहेका छन् । सरकारले सडक सञ्जाल विस्तार गरेको छ, यसले आर्थिक रुपान्तरणमा ठूलो सहयोग पुग्नेछ ।’
प्रतिक्रिया दिनुहोस्