काठमाडौं । मंसिर ७ गते राजधानीमा दुर्गा प्रसाईँ र एमाले कार्यकर्ता आमने सामने हुने भएका छन् । दुर्गा प्रसाईले मंसिर ७ गते वृहद नागरिक मुक्ति आन्दोलन भन्दैका नाममा काठमाडौंमा नागरिक भेला पार्ने कार्यक्रम तय गरेका छन् ।
उता, एमाले निकट राष्ट्रिय युवा संघले पनि मंसिर ७ गते नै माइतीघर मण्डलामा ‘समाजमा बढ्यो अराजकता’ माइतीघर जाऔं भन्दै जुलुस निकाल्ने भनेको छ । प्रसाईँले पछिल्लो समय ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बँचाउ’ अभियान मार्फत नेताहरुमाथि गालीगलौज गर्दै आईरहेका छन् ।
कुनै बेला प्रचण्डका प्रिय पात्र रहेका प्रसाई एमाले र माओवादी मिलेर नेकपा बन्दा ओली–प्रचण्डलाई मिलाउने भन्दै चर्चामा आएका थिए । प्रसाईले ओली–प्रचण्डलाई खुवाएको मार्सि खाना अहिले पनि चर्चित नै छ । प्रचण्डलाई छाडेर एमाले अध्यक्ष ओलीको नजिक पुगेका प्रसाईँलाई एमालेले चितवन महाधिवेशनमा प्रतिनिधी र त्यसपछि केन्द्रिय सदस्य मनोनित गरेर अर्थ विभागको उप प्रमुख नै बनाएको थियो ।
तर धर्म निरपेक्षता हटाउने र राजतन्त्र फर्काउने भन्दै अभियान सुरु गरेपछि एमालेले प्रसाईँलाई कारवाही गरेको थियो । प्रसाईँले एमाले अध्यक्ष केपी ओलीले कम्बोडियाको टेलिकममा ५० औं अर्ब लगानी गरेको आरोप लगाएपछि ओली र एमाले उनीसँग थप चिढिएका थिए ।
पत्रकार सम्मेलन गरेर प्रसाईँ जमलस्थित होटल एल्लो प्यागोडाबाट बाहिरिँदै गर्दा एमाले निकट राष्ट्रिय युवा संघका कार्यकर्ताले कालोमोलो दलेका थिए । त्यसको बदलास्वरुप प्रसाईँले झापामा एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतको कार्यक्रममा अवरोध गर्दै गाडीमा तोडफोड गरेका थिए । त्यसपछि एमाले र दुर्गा प्रसाईँबीचको झगडा थप तनाबपूर्ण बन्दै गएको छ ।
मंसिर ७ गते प्रसाईँले देशबाट काठमाडौं आउन नागरिकहरुलाई आव्हान गरेका छन् भने एमाले निकट युवा संघले पनि माइतीघरमा प्रदर्शनको कार्यक्रम राखेका छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेर मुलुकको सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्