काठमाडौं । हालै नेपालको पश्चिमी क्षेत्रमा गएको विनाशकारी भूकम्पपछि प्रभावित समुदायलाई सहयोग गर्न हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सक्रिय रुपमा कार्य गरिरहेको जनाएको छ । यस भूकम्पमा परि हाल सम्म १५३ जनाको ज्यान गएको छ भने सयौं घाइते भएका छन् । साथै थुप्रै घर, विद्यालय र सार्वजनिक पूर्वाधारहरुमामा व्यापक क्षति पुगेको छ ।
संकटको यस घडीमा सहयोग गर्न प्रतिबद्ध हिमालयन रिइन्स्योरेन्स लिमिटेडले ३५ लाख बराबरको १ हजार ८ सय ७८ त्रिपालहरु र २ हजार कम्बलहरू सहित अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ । १ हजार ८ सय ७८ थान त्रिपाल रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालय, मुसिकोटमा पुगिसकेको तथा कम्बलहरू पश्चिम रुकुमको जिल्ला प्रशासन कार्यालय पुग्ने क्रममा रहेको रिइन्स्योरेन्सले जनाएको छ ।
भूकम्पबाट प्रभावित समुदायसँग हिमालयन रिइन्स्योरेन्स लिमिटेड ऐक्यबद्ध भएर उभिएको र पुनर्निर्माण प्रक्रियामा सहयोग प्रदान गर्न अन्यलाई समेत प्रोत्साहन गर्ने गरेको समेत कम्पनीले जनाएको छ । संकटको यस क्षणमा सम्पूर्ण पक्षले सहकार्य गरी प्रभावकारी कदम चाल्न सकेमा भूकम्प प्रभावित क्षेत्र पश्चिम नेपाललाई पुनर्निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने कम्पनीले अपेक्षा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्