काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १२ वटा जीवन बीमा कम्पनीहरुमध्ये ७ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीहरुलाई न्यूनतम १० प्रतिशत र अधिकतम २८.४१ प्रतिशत लाभांश घोषणा गरेको हुन् ।
जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै लाभांश घोषणा गरेको सिटिजन लाइफ इन्स्योरेन्स २८.४१ प्रतिशत दिने निर्णय गरेकाे छ । कम्पनीको आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीहरुलाई १.४२ प्रतिशत नगद लाभांश र २६.९८ प्रतिशत बोनस सेयर घोषणा गरेको हाे ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स २० प्रतिशत लाभांश दिने भएकाे छ । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
नेशनल लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश दिने भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधानीहरुलाई १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
साथै, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई १४ प्रतिशत बाेनस सेयर दिने निर्णय गरेको छ । उक्त लाभांश साधारण सभाबाट पनि पारित गरि सकेको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले २०७७/०७८ देखि सेयरधनीलाई कुनै पनि लाभांश दिएको छैन । ०८०/०८१ को मुनाफाबाट दिने नदिने कुनै पनि सूचना प्रकाशन गरेको छैन । एशियन लाइफ इन्स्योरेसले पनि हालसम्मा लाभांश सम्बन्धी कुनै पनि सूचना प्रकाशन गरेको छैन ।
सन नेपाल लाइफ इन्स्योन्सले अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा सेयरधनीहरुलाई बोनस सेयर २३ प्रतिशत र नगद लाभांश १.२५ प्रतिशत दिएको थियो भने आव २०८०/०८१ मा कुनै पनि सूचना प्रकाशन गरेको छैन ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पनि अघिल्लो आवमा सेयरधनीलाई ०.८४ प्रतिशत नगद लाभांश र १६ प्रतिशत बोनस सेयर दिएको थियो भने आर्थिक वर्ष ०८०/०८१ मा कुनै पनि सूचना प्रकाशन गरेको छैन । सानिमा लाइफ इन्स्योरेन्सले सेयरधनीलाई अघिल्लो आव ०७९/०८० मा मात्रै १८.३८ प्रतिशत लाभांश दिएको थियो भने यो आव कूनै पनि सूचना प्रकाशन गरेको छैन ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि अघिल्लो आव ०७९।०८० मा मात्रै सेयरधनीहरुलाई ०.५२ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिएको थियो भने यो वर्ष कुनै पनि सूचना प्रकाशन गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्