Shikhar Insurance
National Life

३ करोड लागतमा लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण

सिंहदरबार संवाददाता
२०८१ पुष १४, आईतवार १२:०६
Hyundai
NCELL
NIMB

भोजपुर । अरुण नदीको लम्सुवाघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने मापदण्डको झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल प्राय: मानिसको पैदल आवतजावत प्रयोजनका लागि निर्माण हुने भए पनि यहाँ भने मोटरसाइकल र तीन पाङ्ग्रे सवारी गुड्न मिल्ने गरी निर्माण गरिएको हो ।

कोशी प्रदेशका पहाडी जिल्लामा तीन पाङ्ग्रे सवारी साधन पार गर्ने सक्ने मापदण्डमा निर्माण भएको यो पहिलो पुल भएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत कोशी प्रदेश सरकारको ३ करोड २ लाख लागतमा पुल निर्माण भएको हो । लम्सुवाघाटमा सङ्घीय सरकारको लगानीमा २०६४ सालबाट पक्की पुल निर्माण थालिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

करिब ४ करोड लागतमा सात वटा पिलर राखेपछि नदी बीचमा ठूलो चट्टान भेटिएसँगै यहाँ पक्की पुल निर्माण रद्द गरिएको थियो । प्राविधिक कारणले पक्की पुल निर्माण रोकिएपछि प्रदेश सरकारले स्थानीयको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरेको हो । झोलुङ्गे पुल पाँच फुट चौडाइ र दुई सय तीन दशमलव ८ मिटर लम्बाइको रहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए ।

‘लम्सुवाघाटमा कुनै किसिमको पुल नहुँदा स्थानीयवासीको दैनिकी कष्टकर थियो’ प्रमुख रेड्डीले भने ‘यहाँ पक्की पुल निर्माण ठेक्का रद्द भएपछि प्रदेश सरकारले झोलुङ्गे पुल निर्माण गरेको हो । पुल निर्माणपछि जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता हटेको छ ।’

भोजपुरको षडानन्द नगरपालिका–६ कुमालटार र खाँदबारी नगरपालिका ९ जोड्ने यो स्थानमा पुल बनेपछि स्थानीयवासी, विद्यार्थीले काठको डुङ्गा तथा गाडीको ट्यूबको सहायताले नदी वारपार गर्नुपर्ने बाध्यता थियो । स्थानीयवासी हिउँदको समयमा काठको डुङ्गा तथा ट्युबको सहायताले नदी पार गरे पनि वर्षातको समयमा करिब तीनदेखि चार घण्टा घुमेर तुर्केघाट र सतिघाटबाट नदी तर्दै आएका थिए ।

आधारभूत विद्यालय मात्र रहेको षडानन्द कुमालटारका विद्यार्थीलाई अरुण नदी पार गरेर माध्यमिक शिक्षा लिन सङ्खुवासभाका विद्यालय जान समस्या थियो । पुल बनेपछि विद्यार्थी करिब आधा घण्टामा विद्यालय पुग्ने वातावरण बनेको षडानन्द नगरपालिका–६ का वडाध्यक्ष सुमन विसुन्केले बताए ।

पुल निर्माणले षडानन्द नगरपालिका–६, ७, ८, १०, ११ र १२ का स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको अध्यक्ष विसुन्केले जानकारी दिए । ‘लम्सुवाघाटमा सङ्घीय सरकारको बजेटमा पक्की पुल निर्माणका लागि २०६४ सालमा शिलान्यास भएर काम सुरु भएको थियो’ वडाध्यक्ष विसुन्केले भने, ‘पुल बन्छ भन्ने आशामा हाम्रो करिब १७ वर्ष बित्यो । अहिले त्यो पुलको ठेक्का रद्द भएको अवस्थामा यहाँ झोलुङ्गे पुल निर्माणले हामीलाई राहत मिलेको छ ।’

नदीको बहावलाई ध्यानमा राखेर यहाँ ‘सस्पेन्सन एन’ डिजाइनमा पुल निर्माण गरिएको झोलुङ्गे पुल विषेशज्ञ तथा कोशी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयका सिभिल इञ्जिनियर लाल झाले बताए । यो पुलको ५० वर्ष डिजाइन अवधि रहेको उहाँको भनाइ छ ।

पुल निर्धारित समयमै निर्माण सम्पन्न भएको निर्माण कम्पनी अधिकारी अप्पर तामाकोशी मुकुल जेभीका प्रतिनिधि सुरेस कार्कीले बताए । विसं २०७९ पुस २६ मा सम्झौता भएको पुलको निर्माण अवधि २०८१ पुस २५ सम्म थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्