Skip to content
Shikhar Insurance
National Life

हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले नष्ट, किसान चिन्तित

Hyundai
NCELL
NIMB

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै ६ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको हिउँदेबालीसमेत असिनाले नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् ।

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेत, डाँडाखानीलगायत जिल्लाका उच्च लेकाली क्षेत्रमा वर्षासँगै परेको असिनाले खेतीबालीमा क्षति पुर्याएको किसानले बताएका छन् । हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको भकिम्लीका किसान भीमबहादुर थापाले बताए ।

शनिबार हिउँजस्तै जम्नेगरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको उनको भनाइ छ । खेतबारीमा लगाएको गहुँ, तोरी, केराउ, जौ, उवालगायत भित्र्याउने समय भएका हिउँदेबालीमा असिनाले क्षति गरेको छ । भर्खरै उम्रदै गरेको मकै, सिमी, आलु, काँक्रो, घिरौँला लगायतका तरकारी र बालीका बिरुवामासमेत क्षति पुगेको चिनाखेतका किसान श्याम पुनले बताए।

त्यसैगरी सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति पुर्याएको छ। असिनाले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र माघ महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौँ, फापर लगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए। अलिअलि भएको बालीसमेत असिनाले नष्ट गरिदिँदा किसान मारमा परेको उनले बताए।

जिल्लामा सिँचाइ सुविधा पुगेको झन्डै पाँच हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका किसान भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था छ । वर्षा भएपछि चैते धान रोप्न र खेतबारीमा मकै बाली लगाउन पाउँदा असिना नपरेका ठाउँका किसान खुसी भएका छन् । “फागुन पहिलो साता रोप्नुपर्ने मकै अहिलेसम्म रोप्न सकिएको थिएन, पानीपरेसँगै खेतबारीमा मकै छर्ने चटारो छ”, ज्यामरुककोटका किसान नारायण सापकोटाले बताए ।

बारीमा मकै लगाउन, लहरेबालीलगायत विभिन्न तरकारी र बर्खे आलु लगाउन भने सहज भएको अन्य किसानको भनाइ थियो । शनिबार र आइतबार जिल्लाको धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण र बेनी नगरपालिका गरी ६ वटै पालिकामा वर्षा भएको थियो । वर्षासँगै बेकामे बनेका किसान खेतबारीमा व्यस्त हुने भएका छन् ।

कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ३५ देखि ४५ प्रतिशतसम्म कमी आएको छ । सबैभन्दा बढी तेलहन बालीमा असर परेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । त्यसबाहेक गहुँ, फापर, जौलगायत मौसमी तथा बेमौसमी तरकारीबालीमा समेत असर परेको छ ।

विगतका वर्षमा ३/४ पटक हिमपात भइसक्ने म्याग्दीका उच्च लेकाली क्षेत्रमा यो वर्षभने चैत लागिसक्दा पनि हिमपात हुनसकेको छैन ।

जिल्लाका गुर्जा, मुदी, टोड्के, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका उच्च लेकाली क्षेत्रमा हिमपात नहुँदा पशुपालक किसानलाई समस्या भएको छ । बुकी र खर्कमा हिमपात नभएपछि घाँस पलाउन नसक्दा पशुपालक किसानलाई समस्या भएको हो । समयमा नै हिमपात नहुँदा लेकाली क्षेत्रमा लगाइएको आलुलगायत हिउँदेबालीको उत्पादनमा ह्रास आएको छ भने पशुलाई चरनको समस्या हुने देखिएको किसानले बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्