Skip to content
Shikhar Insurance
National Life

हामीसँग सुनको भाँडो छ, देश बनाउन कचौरामा भिख माग्नु जरुरी नै छैन्, भावी सरकारले सोचोस्

Hyundai
NCELL
NIMB

निर्वाचनबाट ‘लाउड एण्ड क्लियर’ सन्देश आईसकेको छ । निर्वाचनका बेला ठूला गफ र प्रतिवद्धता व्यक्त गर्ने तर काम नगर्ने प्रणाली विरुद्ध निर्वाचनले गतिलो सन्देश दिएको छ । अघिल्लो पाँच वर्षको अधिकांश समय ठूलो उपलब्धि बिनै बितेका थिए । अब भने पहिलो, दोश्रो र तेश्रो एजेण्डा नै आर्थिक विकास हुनुपर्छ । केहि निश्चित व्यवसायी र व्यक्ति मात्रै मोटाउने होइन, देश विकास गर्ने योजनामा काम गर्नुपर्छ । देश विकास गर्ने, बलियो र आत्मनिर्भर अर्थतन्त्र बनाउने हो भने पहिले कृषिलाई उच्च प्राथमिकता दिनुपर्छ । बर्षेनी चार खर्बको आयात भैरहेको छ, त्यसलाई रोक्न ६० प्रतिशत नागरिक सहभागी रहेको कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।

दोश्रो भनेको उर्जाको प्रचुर उत्पादन नै हो । रुस र युक्रेनको युद्धले विश्वमा उर्जा संकटको नयाँ परिवेश सृजना भएको छ । यो अवसरलाई हामीले सदुपयोग गर्नुपर्छ । उर्जाको व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्छ । नेपाल विद्युत प्राधिकरणको एकाधिकार तोडेर ट्रान्समिसन लाइनको निर्माणमा पनि निजी क्षेत्रलाई सहभागी गराउनुपर्छ । भारतमा विद्युत व्यापारमा निजी क्षेत्र आईसकेको छ, नेपालमा विद्युत प्राधिकरणको एकाधिकार तोडिनुपर्छ । प्राधिकरणले पीपीए नगरेको चार वर्ष भैसकेको छ । सरकारले प्राधिकरण मार्फत आफ्नो शक्तिको दुरुपयोग गरिरहेको छ । प्राधिकरणले तीन महिनामा ८ अर्ब कमायो भनेर फुर्ति लगाउने होइन ।

उत्पादन मुलक उद्योगको प्रवर्द्धन र वन पैदावरहरुको उपयोगमा बिशेष योजना बनाउनुपर्छ । कृषि र वन पैदावरको उपयोगका लागि स्थानीय सरकारहरुलाई थप अधिकार र जिम्मेवार बनाउनुपर्छ । अमेरिका, क्यानाडाले रुख काट्न हुने तर हामीले जंगल पस्नै नहुने भन्ने कुरा अब तोडिनुपर्छ । वन जोगाउँदै वनको उपयोग गरिनुपर्छ । नेपालका आगामी प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग सिधै आर्थिक एजेण्डामा कुरा गर्नुपर्छ । अर्काे कुरा भनेको कृषि समानको नेपाल आयातमा भन्सार बढाउनुपर्छ । भारतीय प्रधानमन्त्रीसँग चीन वा बंगलादेशले नबनाएको विद्युत किन्दिन भन्ने कानुन बदल्न भन्नुपर्छ । चिनियाँ प्रधानमन्त्रीसँगको भेटमा नेपालका जडिबुटी खरिद गरिदिन भन्नु पर्यो । नेपालका जडिबुटी चिनमा सहजै निर्यात गर्न मिल्ने वातावरण बनाउन भन्नुपर्छ ।

हामीसँग सुनको भाँडो छ, कचौरामा भिख माग्नु जरुरी नै छैन् । पैसा माग्नु आवश्यक नै छैन् ।  पर्यटनमा हामीले २० लाख पर्यटक भित्र्याउने भनेका छौं । तर तयारी केहि गरिएको देखिन्न । पोखरा र भैरहवामा विमानस्थल बन्यो तर जहाज उडाउने कुनै तयारी गरिएको रहेनछ । काठमाडौंबाटै श्रम स्वीकृति गर्नुपर्छ । स्वास्थ्य परिक्षण गर्ने गतिलो अस्पताल छैन् ।

भ्याटिकन सीटी र मक्का मदिनामा कति धर्मावलम्बी पुग्छन् । हाम्रो लुम्बिनीमा कति पर्यटक ल्याउन सकिन्छ तर भियतनाम, जापान, श्रीलंका, चिनबाट वौद्धमार्गी लुम्बिनी ल्याउन केहि पनि तयारी गरिएको छैन् । लुम्बिनीमा गतिलो होटल नै बनेको छैन् । अयोध्याको चर्चा भैरहँदा हामीले जानकी मन्दिर जनकपुरमा केहि तयारी गरेका छैनौं । अयोध्या जानेहरुले एक पटक जानकी आउनुपर्छ भन्ने योजना खोई बनेको ? पशुपति, मुक्तिनाथको प्रमोशनका लागि केहि भएको देखिन्न । त्यसकारण अब प्रधानमन्त्रीले त्यता पनि ध्यान दिनुपर्छ ।

शिक्षामा बर्षेनी एक खर्ब बाहिरिएको छ । नेपालीका छोराछोरी स्कुल पढ्न सिक्किम, दार्जिलिङ, पुने गैरहेका छन् । विश्वविद्यालयका लागि युरोप अमेरिका गैरहेका छन् । नेपाललाई एजुकेशन हब बनाउने गरि काम गर्नुपर्छ । भारतले मसुरियालाई एजुकेशन हब बनाएको छ, हामीले पनि त्यसरी नै सोच्नुपर्छ । स्वास्थ्य पर्यटनमा पनि धेरै काम गर्न सकिन्छ ।

उत्पादन र निर्यात प्रवर्द्धनमा पनि केहि महत्वपूर्ण योजना बनउनुपर्छ । त्यसले आयात प्रतिस्थापनमा सहयोग गर्छ । अहिले हामी कहाँ एसेम्बललिङ इण्डस्ट्री आएको छ, त्यसले दिगो हुँदैन् । तेलको निर्यात गरिरहेका छौं । त्यसले देशको अर्थतन्त्र बलियो बनाउँदैन् । कम्तिमा पनि ३० प्रतिशत भ्याल्यु एडिसन(मूल्य अभिवृद्धि) नभएको क्षेत्रलाई उद्योगको सहुलियत दिनु हुन्न ।

कर्मचारीहरुलाई कम्तिमा पनि दुई तीन वर्ष एकै ठाउँमा काम गर्न दिनुपर्छ । बजेट बनाउने सचिवलाई कार्यान्वयन गर्न पनि दिनुपर्छ । सचिव मात्रै होइन, अधिकृतस्तरसम्मै कर्मचारीलाई जवाफदेहितासहित केहि समय काम गर्न दिनुपर्छ ।
अब आउने प्रधानमन्त्रीले पाँच वर्षमा देश बनाउने संकल्प गर्नुपर्छ । अहिले घण्टी बजेको छ, यस्तो गरिरहे पाँच बर्षपछि के होला ? भन्ने ख्याल गर्नुपर्छ । अर्थात अब आउने सरकारले पाँच वर्षको क्यालेण्डर पहिलो तीन महिनामै तयार पारेर नागरिक र निजी क्षेत्रको मन जित्न सक्नुपर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्