Skip to content
Shikhar Insurance
National Life

हल्लाको पछि नलाग्न सर्वसाधारणलाई नेपाल रत्न तथा आभूषण संघको आग्रह

Hyundai
NCELL
NIMB

काठमाडौं । पदीय मर्यादा र संस्थाको विधानविपरीत गतिविधि र अभिव्यक्तिका कारण कारबाहीमा परेपछि नरेन्द्रकुमार गुप्ता (प्रतिनिधि रिद्धिसिद्धि ज्वेलर्स प्रा.लि, संचालक व्लुहर्स ज्वेलर्स प्रालि., प्रोप्राइटर रिद्धिसिद्धि ज्वेलरी हाउस)ले नेपाल रत्न तथा आभूषण संघका पदाधिकारी, पूर्वपदाधिकारी र मन नपरेका व्यवसायीविरुद्ध भ्रामक हल्ला फैलाउन थालेको संघले जनाएको छ । गुप्ताको प्रचारवाजीबाट भ्रमित नहुन पनि संघले सर्वसाधारण र सरोकारावालालाई आग्रह गरेको हो ।

संघले एक विज्ञप्ति प्रकाशित गरी कारबाहीपछि गुप्ताले संघका बहालवाला पदाधिकारी, पूर्वपदाधिकारी, नेपाल रत्न तथा आभूषण महासंघका पदाधिकारी, पूर्वपदाधिकारी लगायत नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीविरुद्ध शृंखलाबद्ध रुपमा भ्रम छर्न थालेको जानकारी दिएको छ । ‘उहाँकै नेतृत्वमा रहेको समितिले दिएको सुझाव अनुसारको स्वचालित सुन वितरण प्रणालीमाथि पनि उहाँले प्रश्न उठाउनुभएको छ,’ संघको विज्ञप्तिमा भनिएको छ, ‘जबकि उक्त प्रणालीप्रति उहाँबाहेक संघका कुनै पनि सदस्यले असन्तुष्टि व्यक्त गरेका छैनन् ।’

सुन वितरण प्रणालीमाथि शंका लागे चुप लागेर नबस्न पनि संघले सम्पूर्ण सदस्यहरुलाई अनुरोध गरेको छ । संघमा वरिष्ठ उपाध्यक्ष रहेका गुप्ताले पदीय मर्यादाविपरीत संघका पदाधिकारीविरुद्ध गम्भीर आरोप लगाउन थालेपछि संघले फागुन २३ गते उनीसँग स्पष्टीकरण मागेको थियो । गुप्ताले चैत ८ गते स्पष्टीकरण दिए । स्पष्टीकरणमा उनले पदाधिकारीविरुद्ध लगाएका गम्भीर आरोप पुष्टि गर्ने कुनै प्रमाण प्रस्तुत गर्न नसकेपछि मिति २०८० चैत २२ गते सम्पन्न संघको कार्यसमिति बैठकले उनलाई वरिष्ठ उपाध्यक्ष र साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय ग¥यो ।

आफूलाई समर्थन गर्ने हजारौं व्यवसायी रहेको दाबी गर्ने उहाँलाई बर्खास्त गर्ने संघको निर्णयप्रति एकजनाबाट पनि असन्तुष्टि प्रकट भएको छैन । यसबाट पनि उहाँले लगाउने गरेका आरोप हल्का र आधारहीन छन् भन्ने प्रस्ट हुन्छ । ‘उहाँमाथि अन्याय भएको र उहाँले लगाउनुभएका आरोप सत्य भए उहाँसँगै अरुले पनि आवाज उठाउनुपर्ने होइन र ?’ संघको विज्ञप्तिमा भनिएको छ । संघले कारबाही गरेपछि उहाँले केही सञ्चारमाध्यमलाई संघका पदाधिकारीविरुद्ध भ्रामक र कपोलकल्पित सूचना उपलब्ध गराएर समाचार लेखाउने शृंखला सुरु गरेको र त्यो अहिले पनि चलिरहेको संघका द्वितीय उपाध्यक्ष निर्मलज्योति तुलाधरले जानकारी दिए ।

गुप्ताले संघका बहालवाला एवं पूर्वपदाधिकारीबाहेक नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल चुनचाँदी रत्न तथा आभूषण महासंघका पदाधिकारीलाई समेत बिनाआधार गम्भीर लान्छाना लगाउन थालेपछि २०८० फागुन १३ गते दुवै महासंघ र अन्य सरोकारवालासमेतको भेलाले सत्यतथ्य सार्वजनिक गरेको थियो । उक्त भेलाले गुप्ता स्वयं विवादास्पद पृष्ठभूमिका व्यक्ति भएको र आफ्ना शंकास्पद गतिविधिमा हुन सक्ने छानबिनबाट सरोकारवाला र नियामक निकायको ध्यान अन्यत्रै मोड्न प्रतिस्पर्धी व्यवसायी र विभिन्न संघसंस्थाका पदाधिकारीविरुद्ध अफवाह फैलाएको निष्कर्ष निकालेको थियो । उक्त भेलाले गुप्ताका रहस्यमय गतिविधिको छानबिन गर्न माग गर्ने निर्णय समेत गरेको थियो ।

आफूले किटानी जाहेरी दिएका संघका पदाधिकारी र व्यवसायीलाई प्रहरीले पक्राउ नगरेपछि व्यावसायिक मर्यादाविपरीत निहित स्वार्थका लागि काम गर्ने केही अनलाइन सञ्चार माध्यमको सहारा लिएर पुनः भ्रमको खेतीमा लालागेका छन् । । त्यसैले यो संघ गुप्ताले उपलब्ध गराएका सूचनालाई अन्य स्रोतबाट पुष्टि गरेर मात्र समाचार बनाउन सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गर्दछ । उनले कसैको बदनाम गराउने उद्देश्यले उपलब्ध गराउने सूचनाको भरमा मात्र सामग्री तयार गरी प्रकाशन/प्रसारण गर्दा प्रतिष्ठित सञ्चार माध्यमकै विश्वसनीयता संकटमा पर्न सक्ने जोखिम रहन्छ ।

‘अहिले उहाँ नानाथरी आरोप लगाएर संघका पदाधिकारी र आफूइतरका व्यवसायीको चरित्र हत्या गर्ने एकसूत्रीय अभियानमा हुनुहुन्छ,’ संघका द्वितीय उपाध्यक्ष तुलाधर भन्छन्,‘त्यसैले हामी नरेन्द्रकुमार गुप्ता वा बेनामी स्रोतको हवाला दिएर यस संघका बहालवाला एवं पूर्वपदाधिकारी, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीको नाम जोडेर प्रकाशित/प्रसारित हुने सामग्रीमा विश्वास नगर्न सरोकारवाला सबैलाई सल्लाह दिन्छौं ।’ गुप्ताले अझै पनि व्यवसायी र संघका पदाधिकारीविरुद्ध भ्रम फैलाउने काम जारी राखे त्यसविरुद्ध कानुनी उपचारमा जाने तथा स्वयं र उनको व्यावसायिक प्रतिष्ठानबाट प्रचलित कानुनको परिपालना भए/नभएको विषयमा संस्थागत रुपमै अनुसन्धान गरी सम्पूर्ण सत्यतथ्य बाहिर ल्याउने चेतावनी संघले दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्