Skip to content
Shikhar Insurance
National Life

स्वाप रेसियो र नाममा प्रभुले ‘कम्प्रमाइज’ गरे अर्को साता मर्जर सम्झौता गर्ने सुरमा सेञ्चुरी

Hyundai
NCELL
NIMB

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकबीच अर्को साता मर्जरको सम्झौता हुने सम्भावना बढेको छ । प्रभु बैंकले स्वाप रेसियो र मर्जर पछि बन्ने बैंकको नाममा ‘कम्प्रोमाइज’ गरे सेञ्चुरी बैंक सम्झौतामा हस्ताक्षर गर्न तयार हुने भएको हो ।

अहिले सेञ्चुरी बैंकको मर्जर कमिटीसँग हिमालयन बैंक र प्रभु बैंकको मर्जर कमिटीले दैनिक जसो छलफल गरिरहेका छन् । तर, हिमालयनभन्दा मर्जरको उपयुक्त पाटर्नर प्रभु नै भएको सेञ्चुरी बैंकका एक सञ्चालकले बताउँछन् ।

‘ माछापुच्छ्रे बैंकसँग एक तहको छलफल तथा सम्झौता भएर कुरा मिलेन, अहिले हिमालयन र प्रभुले प्रस्ताव गरेका छन्,’ सेञ्चुरी बैंकका ती सञ्चालकले सिंहदरबारसँग भने, ‘हिमालयनसँग भन्दा प्रभुसँग बाक्लो छलफल भइरहेको छ, हाम्रा केही सर्तमा प्रभुले ‘कम्प्रोमाइज’ गरे अर्को साता एमओयू होला ।’

प्रभु बैंकसँग स्वाप रेसियो र मर्जरपछि बन्ने बैंकको नाममा अहिले घनिभुत छलफल चलेको उनको भनाइ छ ।

‘हामी आफ्नो अस्तित्व जोगाएरै मर्जरमा जाने पक्षमा छौं, स्वाप रेसियो बारेपनि मर्जर कमिटीले ‘नेगोसिएसन’ गरिरहेको छ,’ उनले थपे, ‘अहिले बैंकको फाइनान्सियल स्ट्रेन्थ पनि राम्रो छ, हामी आफैं पनि ग्रोथ गर्न सक्ने भइसकेका छौं, ८५ देखि ९५ प्रतिशत वा १ बराबर १ नै दिनु पर्छ भन्ने हाम्रो सर्त हो ।’

मर्जर पछि बैंकको स्थायित्व जोगाउनलाई सेन्चुरी बैंकले सम्झौता नगर्ने हुँदा प्रभुसँग प्राप्ति हुने भन्दा मर्जर नै हुन सक्ने उनको भनाइ छ ।

सेञ्चुरी बैंकलाई वित्तीय स्वास्थ्य कमजोर भएर प्रतिस्पर्धी व्यापार गर्न नसकेको भन्दै राष्ट्र बैंकले समेत अनौपचारिक रुपमा मर्जर जान भनिरहेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाले ६ महिनाभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सीईओ) खाली राख्न पाउँदैन ।

तर, सेञ्चुरी बैंकमा तुल्सीराम गौतमले गत असार २० गते नै राजीनामा दिएपछि करिब ९ महिना बैंक डेपुटी सीईओ मनोज न्यौपानेले चलाएका थिए । त्यस समयबीच राष्ट्र बैंकले सेञ्चुरी बैंकका सञ्चालकहरुलाई सीइओ नियुक्ती गर्नुभन्दा पाटर्नर खोजेर मर्ज हुनु नै सुझाइरह्यो ।

बैंकले पनि त्यसबीचमा माछापुच्छ्रे बैंकसँग मर्जरका लागि एमओयूको सम्झौतापत्रसम्म तयार गरिसकेको थियो । तर, सेञ्चुरी बैंकका सञ्चालकहरुबीचको आपसी असमझदारीले गर्दा मर्जरको नेगोसियसन नै भाँडिएको हो ।

मर्जरलाई प्रोत्साहन गरेको नेपाल राष्ट्र बैंकले पनि सेञ्चुरी र माछापुच्छ्रे बीच मर्जर होला भन्ने अनुमानका आधारमा सीईओ नराख्दा पनि ताकेता गरेको थिएन । तर, मर्जर नहुने छाटकाँट नदेखाएपछि सीईओ नियुक्त गर्न लिखित पत्र काटेपछि सेञ्चुरी बैंक सञ्चालक समितिले डीसीईओ न्यौपानेलाई सीईओ बनाएको हो ।

नयाँ बैंकको सिईओ को हुने ? भन्ने टुंगो लागेको छैन । प्रभु बैंकका अशोक शेरचनले चाहेमा उनको निरन्तरता हुनेछ । अन्यथा सेन्चुरीका न्यौपाने सिईओ बन्नेछन् ।

वैशाख मसान्तसम्म सेञ्चुरी बैंकको चुक्ता पुँजी १० अर्ब ५५ करोड छ भने रिजर्भमा १ अर्ब ११ करोड छ । बैंकले ९२ अर्ब ४२ करोड २० लाख निक्षेप परिचालन गरी ९० अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । वैशाख मसान्तसम्म बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरिसकेको छ भने असार मसान्तसम्म १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गर्ने लक्ष्य बैंकका सीईओ न्यौपानेले राखेका छन् ।

यता, १२ अर्ब ७० करोड रुपैयाँ चुक्तापुँजी रहेको प्रभु बैंकको वैशाख मसान्तसम्म रिजर्भमा २ अर्ब ६२ करोड छ । बैंकले १ खर्ब ६९ अर्ब ८५ करोड निक्षेप परिचालन गरी १ खर्ब ५१ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह छ । सो अवधिमा बैंकले १ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE