काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संरचनालाई निरोधात्मक पक्षमा ध्यान दिँदै चेतनाको अभिवृद्धिमा काम गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय जनस्वास्थ्य दिवसका अवसरमा नेपाल जनस्वाथ्य सङ्घले आयोजना गरेको कार्यक्रममा उनले स्वस्थ्य नेपाल र स्वस्थ्य भावी पुस्ता बनाउने कुरामा लागिपर्नुपर्नेमा जोड दिएका हुन् ।
‘बिरामी हुँदा उपचार गर्ने राज्यको दायित्व हो । तर विरामीको सङ्ख्या बढ्दै जाँदा सबैको नि:शुल्क उपचार गर्न नसकिने अवस्था पनि हुन्छ’ उनले भने ‘सबैलाई कसरी निरोगी बनाउने र कम खर्चमा कसरी सेवा गर्न सकिन्छ त भन्ने मुख्य कुरा हो ।’ उनले जनस्वास्थ्य क्षेत्रको उपस्थितिले यी लक्ष्य हासिल गर्न सहज हुने विश्वास व्यक्त गरे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्य क्षेत्रमा जनस्वास्थ्य अधिकृतको आवश्यकता रहेको उल्लेख गरे । उनले भने ‘स्रोत व्यवस्थापन गर्न सकियो भने सबै स्थानीय तहमा जनस्वास्थ्य अधिकृत चाहिन्छ, स्वास्थ्य ऐन छुट्टै चाहिएकै छ । बनाउने क्रममा छौँ । जनस्वास्थ्यकर्मीको दक्षता नीति निर्माणमा चाहिएको छ ।’
सङ्घका उपाध्यक्ष तेजप्रसाद दुलालले जनस्वास्थ्य विषयका महत्त्व तथा यस क्षेत्रका सवाललाई उजागर गरेर राज्यका विभिन्न निकाय तथा सरोकारवालालाई यसको प्राथमिकताबारेमा सचेतना गर्ने उद्देश्यले दिवस मनाउने गरेको बताए । उनले भने ‘हामी दशौँ हजारको सङ्ख्यामा छौँ तर अझै पनि सबै सङ्गठित हुन सकेका छैनौँ । नीति बनाउँदा जनस्वास्थ्यको विषयलाई पनि ध्यान दिनुपर्छ । उत्पादन भइरहेको छ तर जनशक्तिलाई कसरी काममा लगाउने सोच्नुपर्छ । दक्ष जनशक्तिलाई विदेश पलायन हुन बाट रोक्नुपर्छ ।’
नेपाल जनस्वास्थ्य सङ्घ २०४७ साल मङ्सिर २३ गते स्थापना भएको हो । सङ्घले यस वर्ष ‘जनस्वास्थ्य लगानी गरौँ, स्वस्थ्य राष्ट्र निर्माण गरौँ’ भन्ने नाराका साथ सप्ताहव्यापी सातै प्रदेशमा दिवसको अवसरमा कार्यक्रम सञ्चालन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्