Skip to content
Shikhar Insurance
National Life

सेयर धितोमा राखेर पाइने कर्जाको सिमा घट्दै, ५५ प्रतिशत बनाउने तयारी

Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर धितोमा राखेर पाइने कर्जाको सिमा घट्ने भएको छ । सेयर बजारमा अनावश्यक उतार चढाव देखिएको तथा बैंकहरुको ऋणको दुरुपयोग भएको आशंका गर्दै राष्ट्र बैंकले सेयर धितोमा राखेर प्रदान गरिने कर्जा(मार्जिन लेण्डिङ)को सिमा घटाउन लागेको हो । ‘सेयर बजारमा देखिएको अनावश्यक वृद्धिले धेरै ठूलो समस्या ल्याउन सक्ने आँकलन गरेका छौं, त्यसलाई रोक्न पनि मार्जिन लेण्डिङ घटाउनेबारे छलफल भैरहेको छ’, नेपाल राष्ट्र बैंक श्रोतले भन्यो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षाबाटै मार्जिन लेण्डिङको सिमा घटाउने तयारी गरेको थियो । सरकारमाथि चौतर्फी घेराबन्दी भैरहेकाले तत्काल सेयर बजारमा नकारात्मक प्रभाव पार्ने कुनै निर्णय नगर्न अर्थमन्त्री बिष्णु पौडेलले निर्देशन दिएका थिए । राष्ट्र बैंक सञ्चालक समेत रहेका अर्थ सचिव मार्फत नेपाल राष्ट्र बैंकको बोर्ड बैठकमा अर्थमन्त्रीको धारणा पुगेको थियो ।

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले सेयर धितोमा प्रदान गरिने मार्जिन प्रकृतिको कर्जामा सेयरको मूल्यांकन गर्दा १८० दिनको औसत मूल्यलाई १२० दिन बनाएको थियो । त्यहि मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षाले पुनः १८० दिनमा फर्काएको छ ।

चालु आवकै मौद्रिक नीतिले सेयर धितो राखेर पाइने कर्जाको सिमा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत बनाएको थियो । जुन अहिले पनि ७० प्रतिशत नै कायम छ ।
श्रोतका अनुसार मार्जिन लेण्डिङको सिमा ५५ प्रतिशत आसपास बनाउने गरि छलफल भैरहेको छ । यसबारे नेपाल धितोपत्र बोर्ड समेत सकारात्मक रहेको श्रोत बताउँछ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले भने आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे भर्खर सुझाव आह्वान मात्रै गरिएको बताए । ‘हामीले सार्वजनिक रुपमा सुझाव मागेका छौं, आगामी आर्थिक वर्षको बजेट, आर्थिक वृद्धिदरको लक्ष्य, मौद्रिक तथा वित्तिय स्थायीत्व लगायतका विषयलाई ध्यान दिएर मौद्रिक नीति आउँछ, बाँकी प्राविधिक विषयमा अहिले प्रवेश गरेका छैनौं’ राष्ट्र बैंक नियमन विभाग प्रमुख समेत रहेका प्रवक्ता ढकालले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE