Skip to content
Shikhar Insurance
National Life

सुदुरपश्चिम प्रदेशको आगामी मुख्यमन्त्री माओवादी केन्द्रका खगराज भट्ट नै हुनः देउवा

Hyundai
NCELL
NIMB

डडेल्धुरा । चार दिनदेखि गृहजिल्ला डडेल्धुरामा आसन्न मङ्सिर ४ गते हुने निर्वाचन लक्षित चुनावी सभामा रहनुभएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यहाँको भित्रीमधेशका दुई पालिकामा सम्बोधन गरे ।

दिउँसो आलिताल गाउँपालिकाको गोदाम बजार नजिक आयोजित चुनावी सभा सम्बोधनपछि प्रधानमन्त्री देउवाले परशुराम नगरपालिकाको जोगबुढामा अर्को चुनावी सभालाई सम्बोधन गरे ।

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । यसपटक सत्ता गठबन्धनको साझा उम्मेदवार समेत रहेका प्रधानमन्त्री देउवाले आफ्नो सम्बोधनका क्रममा आसन्न निर्वाचनपछि गठबन्धनको सरकार बन्ने र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र) का नेता तथा डडेल्धुराबाट प्रदेशसभा १ का उम्मेदवार रहेका खगराज भट्टलाई बनाउने बताए ।

“मेरो पार्टीले पनि भने त भइहाल्यो नि । यसपछि गठबन्धनको सरकारमा मुख्यमन्त्री खगराज भट्ट नै हो”, जोगबुढा सभामा बोल्दै देउवाले भने, “तपाईंहरू जिताएर पठाउनुस् ।” राष्ट्रिय राजनीतिदेखि डडेल्धुराका साथै सुदूरपश्चिमको विकासका विषयमा समेत बोल्दै देउवाले यहाँ गठबन्धनले जिते सुदूरपश्चिममा विकास धेरै हुने बताए ।

परशुराम नगरपालिका–५ परिगाउँस्थित महाकाली नदीमा पक्की पुल बनाउन भारतीय प्रधानमन्त्रीसित कुराकानी गर्ने उनको भनाइ थियो । “त्यहाँ पुल बने भारत आवत जावतका साथै पूर्णागिरि दर्शनका लागि जान पनि सहज हुन्छ”, उनले भने, “यहाँको आलितालदेखि महाकालीसम्म रङ्गुन खोलाको नदी कटान नियन्त्रणका लागि ठूलो योजना अघि सारिने छ ।” त्यसका साथै दैजी–जोगबुढा सडक, बुडर–जोगबुढा सडक कालोपत्रे, यहाँका खोलानालामा पुल निर्माणका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्दै लैजाने प्रधानमन्त्री देउवाको भनाइ थियो । रासस

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्