Skip to content
Shikhar Insurance
National Life

सिएनआईका अध्यक्ष अग्रवालको आरएमसी फुड्स भन्सार छलीमा, थप अनुसन्धान हुँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालको खाद्य कम्पनी कर विवादमा फसेको छ । अग्रवालको स्वामित्व रहेको आरएमसी फुड्स प्राली भन्सार छलिमा मुछिएको हो ।

आरएमसी फुड्स प्रालीले भन्सार प्रज्ञापन पत्र नम्बर ७७७११५ बाट पामोलिन आयात गरेको थियो । हाल देशभर आयात हुने पमोलिन कच्चा हो या तयारी भन्ने चर्को विवादकोबिच प्रालीको तेल कच्चा भन्सार उपशिर्षक १५१११०.०० बाट जाँचपास भएपछि विवाद बढेको हो । प्रालीले वीरगञ्ज भन्सार नाकाबाट २ लाख ५० हजार केजी पामोलिन आयात गरेको छ ।

भन्सार विभागमा परिक्षणकै क्रममा रहको तेल कार्यालयले जाँचपास गरेपछि जाँचपास हुन बाँकी पामोलिन रोकिएको छ । विभागले कच्चा तेल हो या तयारी तेल भन्ने छुट्याउन बाँकी हुदैं कार्यालयले जाँचपास गरेपछि कार्यालयको काम शंकास्पद देखिएको हो ।

विभाग स्रोतले भन्यो, कच्चा भनेर तयारी पामोलिन आयात गर्दै अर्बौ राजस्व छलि भएको सन्दर्भमा विभागको ल्याबले समेत तयारी तेल भएको पुष्टी गरेको अवस्थामा जाँचपास हुनु शंकास्पद हो, यसमा हामीले हाललाई जाँचपासको प्रकृया रोक्न भनेका छौं, ल्याब रिपोर्ट आएपछि के गर्ने भनेर थप निर्णय गर्नेछौं ।

सो जाँचपासमा सहभागी अधिकृत सुनिता पौडेल र नायव सुब्बा रमेश माझी रहेका छन । यी दुबै कर्मचारीलाई भन्सार विभागले कारबाहीको तयारी समेत गरेको छ । स्रोतका अनुसार जाँचपासमा सहभागी सुनिता पौडेलले भने आफूले मात्रै आट नगरेको बताउने गरेकी छिन् । स्रोतले भन्यो, ‘पौडेलले मैले मात्रै यति ठूलो विषय कसरी आट गर्छु होला ररु उनीले सिधैं कार्यालयका प्रमुख डिलाराम पन्थीको समेत मिलेमतो रहेको संकेत गरेकी छन् ।’

यसो त २ कर्मचारीलाई जोगाउन कार्यालय प्रमुख पन्थीले अर्थ सचिव मधुकुमार मरासिनी र राजस्व सचिव डा.रामप्रसाद घिमिरेलाई बारम्बार फोन गरिरहेका छन् । उनले सचिवलाई फोन गर्दै उनीहरुलाई कारबाहीबाट जोगाउनु पर्यो भन्दै दबाब दिइरहेका छन् । आएमसी फुड्सको विषयमा प्रमुख भन्सार प्रमुख पन्थीले भने धरौटी लिएर जाँचपास गरेको जिकिर गरेका छन् । उनले भने, ‘आरएमसी फुड्स प्रालीको पामोलिन हामीले धरौटी लिएर जाँचपास गरेका हौं , ल्याब रिपोर्ट आएपछि मात्रै तयारी हो या कच्चा उपशिर्षकमा वर्गीकरण गर्छौं ।’

तर पन्थीको यो दाबी भने झुट भएको विभाग स्रोतले बताएको छ । परिक्षण गर्न नमुना पठाएर परिक्षणको रिपोर्ट नआउँदै जाँचपास गरिएको विभागको दाबी छ । प्रालीका संचालक अग्रवालसँग महसुल छलिको विषयमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

के हो क्रुड–तयारीको लफडा ?

पामोलिन तेस्रो देशबाट आयात भएर भारत निर्यात हुने प्रमुख वस्तु हो । नेपाली व्यवसायीहरुले नेपाल र भारतको भन्सार अन्तरको फाइदा लिएर निकासी गर्ने गरेका छन् । यसरी ४० वर्षदेखी आयात भैरहेको पामोलिन कच्चा पदार्थ भन्सार उपशिर्षक उपशिर्षक १५१११०.०० बाट जाँचपास हुदै आएको छ । यसरी आयात गर्दा उद्योगीले १० प्रतिशत भन्सार महशुल तिर्नुपर्ने हुन्छ । विराटनगर भन्सार कार्यालयले जनकपुर रिफाइनरीजले ल्याएको पामोलिनमा शंका लागेपछि नमुना परिक्षणका लागि भन्सार विभागको ल्याबमा पठायो । सो ल्याबबाट क्रुड भनेर आयात गरिएको पामोलिन तयारी भएको खुल्न आयो ।

ल्याब रिपोर्टबाट तयारी तेल भएको खुल्न आएपछि विराटनगर भन्सार कार्यालयले तयारी तेल उपशिर्षक १५११९०.२० बाट वर्गिकरण गर्ने निर्णय गरेपछि कार्यालयको निर्णय उपर उच्च अदालत पाटन गएको छ । पाटन उच्च अदालतले भन्सार विभाग र भन्सार कार्यालयको नाममा ७ दिनभित्र बिनाशर्त धरौटी लिएर भन्सार जाँचपास गर्न भनेपछि जकरपुर रिफाइनरीजको तेल जाँचपास भैसकेको छ । तर अदालतले १ महिनाभित्र वर्गिकरण गर्नु भनि परमादेश दिएको छ ।

सो परमादेश अनुसार अब साउन १३ गतेसम्म विराटनगर भन्सार कार्यालयले वर्गिकरण गर्नुपर्नेछ । व्यवसायीहरुले भने भन्सार विभागले उद्योगमाथी ज्यादती गरेको आरोप लगाउने गरेका छन् । एक व्यवसायीले भने, ‘हामीले तेल आयात गर्ने समयमा नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर तेल आयात गर्ने गर्छौं, तेल आयात गरेपछि पनि खान योग्य छ या छैन भनि पुनस् नमुना परिक्षण गर्ने गर्छौं, हामीले आयात गरेको तेल सिधा प्रयोग गर्न मिल्दैन, निश्चित प्रशोधन गरेपछि मात्रै प्रयोग गर्न मिल्छ यो कुरा भन्सार विभागलाई कस्ले सम्झाउने ? ।’

GBIME

प्रतिक्रिया दिनुहोस्