Skip to content
Shikhar Insurance
National Life

सामान्य अंक बढ्यो नेप्से, सिटी होटलको सेयर पाेजेटिभ सर्किटमा कारोबार हुँदा अन्य कुनले कति कमाए?

Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्ला ४ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको सेयर बजार बुधबार सामान्य अंक बढेर बन्द भएको छ। नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको थियो।

सामान्य अंक बढेको सेयर बजारमा सिटी होटलको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । भने समता घरेलु लघुवित्तको ९.९२ प्रतिशत र सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ । अन्य कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा कमले बढेको छ । कारोबारमा आएको सानिमा जीआईसी इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा बढी ४.२१ प्रतिशतले घटेको छ ।

पछिल्लो ४ कारोबार दिनमा ७८.३५ अंक घटेको नेप्से, बुधबार ५.१६ अंक बढेर १८९४.७६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक बढेको छ।

नेप्से बढे पनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २८ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २८६ कम्पनीको  ५५ हजार १९७ पटको कारोबारमा १ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ३७ लाख ३३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएको १३७ कम्पनीको सेयर मूल्य बढेको छ । ८५ कम्पनीको सेयर मूल्य घटेको छ भने, १२ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमका आधारमा यस दिन माण्डु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यसैगरी, एनआईसी एशियाको ३ करोड ५४ लाख, नबिल बैंकको ३ करोड ३१ लाख, हाथवे इन्भेष्टमेन्टको ३ करोड १९ लाख र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ७८ लाखभन्दा बढीको सेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.८० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो।

GBIME

प्रतिक्रिया दिनुहोस्