Skip to content
Shikhar Insurance
National Life

‘सामाजिक क्षेत्रमा हासिल गरेको प्रगति आर्थिक क्षेत्रमा रूपान्तरण’ १६औँ योजनाको लक्ष्य हो

Hyundai
NCELL
NIMB

मन्त्रिपरिषद्को बैठकले १६औँ पञ्चवर्षीय आवधिक योजनाको अवधारणापत्र स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पहिचान गरेका एक दर्जन रूपान्तरणकारी योजना १६ औँ योजनामा समावेश हुँदै छन् । समष्टिगत आर्थिक आधारहरूको सबलीकरण, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, मर्यादित समावेशी रोजगारीका अवसरको सिर्जना, मानव पुँजी निर्माण र उत्कृष्ट जनशक्ति योजनालाई १६औँ आवधिक योजनाको रूपान्तरणकारी क्षेत्र मानिएको छ ।
गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य प्रणाली, गुणस्तरीय पूर्वाधार र व्यवस्थित शहरीकरण, सामाजिक सशक्तीकरण, समावेशीकरण र सामाजिक सुरक्षालाई समेत १६ औँ योजनाको संरचनात्मक रूपान्तरणका क्षेत्रका रूपमा पहिचान गरिएको छ । सुशासन, सामाजिक न्याय र समृद्धिको सोच लिएको १६ औँ योजनाको मूल उद्देश्य राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्नु हो ।

स्वास्थ्य, शिक्षा, रोजगारी, आवासलगायतका क्षेत्रमा सामाजिक न्याय स्थापित गर्नु हो । सामाजिक जीवन, आर्थिक विकास तथा राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल १६औँ आवधिक योजनाको मूलभूत लक्ष्य रहनेछ । आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले योजनाको पूर्ण दस्तावेजमा २०१३ सालदेखि बनेका आवधिक योजनाको संक्षिप्त समीक्षा समावेश गर्न र १६ औँ योजनालाई यथार्थपरक बनाउन निर्देशन समेत दिइसक्नु भएको छ ।

दिगो विकास कार्यक्रम तथा लक्ष्य

नेपाल सरकार एसडीजी (दिगो विकासका लक्ष्यहरू) हासिल गर्न र तिनलाई तीनै तहका सरकारमा मूल प्रवाहीकरण र स्थानीयकरण गर्न पूर्णरूपमा प्रतिबद्ध छ । हामीले सबै स्थानीय तहमा एसडीजी स्थानीयकरण कार्यक्रम सञ्चालन गरेका छौँ । मध्यम अवधिको व्यय ढाँचा, वार्षिक बजेट र क्षेत्रगत रणनीतिसँग मिलाएर योजना, अनुगमन र मूल्याङ्कनको दिशानिर्देश गरिएको छ ।

१६औँ आवधिक योजना दिगो विकासका लक्ष्यहरू हासिल गर्न संविधानले नै मानेको अर्थतन्त्रको तीनवटा खम्बा सरकार, निजी क्षेत्र र सहकारीसँगै नागरिक समाज र विकास साझेदारहरूलाई समेत महत्वपूर्ण साझेदारको रूपमा लिएका छौँ । नेपालले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्न अथक प्रयासलाई अगाडि बढाइरहेको छ । संघ, प्रदेश र स्थानीय सरकारका नियमित कार्यक्रम, नीतिगत सूचक र लक्ष्यहरूमा एसडीजीका सूचक तथा लक्ष्यहरूलाई आन्तरिक रूप दिइएको छ । हालको १५औँ योजना एसडीजीसँग मिल्दोजुल्दो छ । हामीले विभिन्न तहमा संस्थागत संयन्त्र पनि बनाएका छौँ ।

प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति गठन गरिएको छ । मेरो नेतृत्वमा समन्वय तथा कार्यान्वयन समिति छ । दिगो विकास तथा सुशासनसम्बन्धी संसदीय समितिले एसडीजीलाई विधायकी प्रक्रियामार्फत कानुनमा नै व्यवस्था गर्नका लागि काम गरिरहेको छ । राष्ट्रिय योजना आयोगका सदस्यहरूको नेतृत्वमा रहेका विभिन्न विषयगत समितिहरूले एसडीजीहरूको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालय र अन्य निकायहरू र गैर–राज्य पक्षहरूसँग समन्वय गरिरहेका छन् ।

लक्षित दिगो विकास प्राप्तिका लागि नेपालले आन्तरिक र बाह्य दुवै स्रोत परिचालन गरेको छ । एसडीजीको कार्यान्वयन संसदीय समिति र महालेखा परीक्षकको कार्यालयलगायतका अनुगमनकारी निकायबाट नियमितरूपमा अनुगमन भइरहेका छन् ।

दिगो विकासको लक्ष्य, २०३० का एजेन्डाहरूको उपलब्धि विश्वव्यापीरूपमा गम्भीर खतराको सामना गरिरहेको छ । विश्वको भोकमरी र गरिबीका आधारभूत लक्ष्यहरू पनि दशकौँको प्रगतिपछि उल्टो हुन थालेको चिन्ताजनक अवस्था छ ।
सन् २०२० मा मात्रै अल्पविकसित देशका तीन करोड २० लाख मानिस चरम गरिबीमा धकेलिएका थिए । हामीले एसडीजीमा हराएको आधार प्राप्त गर्न हाम्रो प्रयासलाई तीव्र बनाउनुपर्ने चुनौंती छ । यसका लागि उपयुक्त र नयाँ रणनीतिको खाँचो छ । यस सन्दर्भमा संयुक्त राष्ट्र संघको आयोजनामा सन् २०२३ मा हुने एसडीजी शिखर सम्मेलन निकै महत्वपूर्ण छ ।

नेपालको सन्दर्भमा केही उत्साहजनक संकेतहरू देखिएका छन् । महत्वपूर्ण पक्ष नेपाल कोभिड–१९ को महामारीका बीच पनि तेस्रो पटक एलडीसी अवस्थाबाट उत्तीर्ण भएको छ । यतिमात्र होइन सन् २०२६ सम्म पनि नेपालले यो स्थान सुरक्षित राख्न सफल भइसकेको छ । तथापि, दुःखका साथ भन्नुपर्छ, हामीले सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्‍यौँ तर आर्थिक क्षेत्रमा सकेनौँ । अब पालो आर्थिक रूपान्तरणको हो ।

दिगो विकासको २०३० लक्ष्य तथा उद्देश्य (एजेन्डा) हरूलाई साकार पार्नका लागि नीतिहरूलाई कार्यमा रूपान्तरण गर्नु र विकासका प्रयासहरूलाई गति दिन उतिकै आवश्यक छ । हामीले आर्थिक रूपान्तरणलाई उत्प्रेरित गर्ने सम्भाव्यता भएका प्रमुख क्षेत्रहरू पहिचान गरेका छौँ । जसले हामीलाई एसडीजी प्राप्ति र एलडीसीको स्थितिबाट माथि उठान सहयोग पुग्छ ।

हामी नेपालको विकास परिदृष्यमा आमूल परिवर्तन ल्याउन खोज्दैछौँ । उत्पादन र रोजगारीका क्षेत्रहरूलाई प्राथमिकतामा राखेर अझ विशेष गरी कृषि र उद्योगमा हामी मूर्त प्रगतिलाई बढावा दिन चाहन्छौँ । मानव पुँजीको विकास र घरेलु रोजगारीका अवसरहरूमार्फत फर्केका आप्रवासी कामदारहरूलाई रोजगारी र आर्थिक उपार्जनमा जोड्ने र प्राप्त रेमिट्यान्सलाई नवीन उत्पादनमूलक क्षेत्रमा लगाउने रणनीति छन् । साथै, पछिल्लो समय बढ्दो आकर्षण सेवा तथा आईटी (प्रविधि) को व्यवसायको क्षेत्रमा समेत केही गर्न सकिन्छ कि भनेर लागिरहेका छौँ । उसो त सरकारले पनि यो क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।

आगामी योजनाले सबै नागरिकका लागि समान स्रोत वितरण सुनिश्चित गर्दै सामाजिक न्यायलाई बढावा दिनेछ । एसडीजी, डीपीओ र एसटीएसलाई १६औँ योजनासँग मिलाएर नेपालको विकासको मार्गलाई थप समृद्ध बनाउनेमा म विश्वस्त छु । सांकेतिक, यथार्थपरक र कार्यदक्षताका साथ दीर्घ दृष्टिकोणसहित हामी संरचनागत अवरोधहरू पार गर्दै राष्ट्रलाई समृद्धितर्फ लैजानेमा विश्वस्त छौँ ।

नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को बार्षिक जर्नल ‘अर्थचित्र’बाट साभार 

GBIME

प्रतिक्रिया दिनुहोस्