Skip to content
Shikhar Insurance
National Life

श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माण गर्न महायज्ञबाट जुट्यो ३५ लाख सहयोग

Hyundai
NCELL
NIMB

काठमाडाैं। काठमाडौँ महानगरपालिका-२९ स्थित श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माणका लागि ३५ लाख सहयोग रूपैयाँ जुटेको छ ।

मन्दिर पुनःनिर्माणका लागि सहयोग जुटाउने उद्देश्यले नौ दिने श्री गोदा वेणुगोपाल श्री महालक्ष्मी पुष्पयाग साङ्गश्रीमद्भागवत महापुराण सम्पन्न भएको थियो । महायज्ञबाट ३५ लाख रूपैयाँ सहयोग जुटेको श्री गोदा वेणुगोपाल मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष मुकुन्द अधिकारीले राससलाई जानकारी दिए।

महायज्ञमा श्री १००८ डा चक्रपाणि आचार्य स्वामीजीले कथा वाचन गरेका थिए। महायज्ञमा जनार्दन घिमिरेले मूल पाठपारायण गरेको मूल आयोजक समितिको अध्यक्षसमेत रहेका श्री १००८ यतीन्द्राचार्य महन्तले जानकारी दिए ।

विसं २०२१ मा श्री १००८ श्रीनिवासाचार्यले स्थापना गरेको मन्दिर विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको थियो । काठमाडौँ महानगरपालिका, काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रकाशमान सिंह, वाग्मती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वसंस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलगायत स्थानीयवासीको सहयोगमा मन्दिर पुनःनिर्माण भइरहेको छ ।

मन्दिर पुनःनिर्माणका लागि अहिलेसम्म १३ करोड रूपैयाँ खर्च भइसकेको व्यवस्थापन समितिका कोषाध्यक्ष अधिकारीले बताए । मन्दिर पुनःनिर्माण सम्पन्न गर्न अझै ५ करोड रूपैयाँ बजेट लाग्ने उनले सुनाए। बाँकी सहयोग जुटाउने उद्देश्यले नै अनुष्ठान आयोजना गरिएको जनाइएको छ । अनुष्ठानबाट ३५ लाख रूपैयाँ सहयोग जुटेपछि बाँकी रकम कसरी जुटाउने भन्ने विषयमा छलफल भइरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्