Skip to content
Shikhar Insurance
National Life

वैदेशिक रोजगारीपछि पशुपालन, मासिक २ लाख आम्दानी गर्दै नोमबहादुर

Hyundai
NCELL
NIMB

घोराही । घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसी दैनिक दुई सय लिटर दूध बेच्छन् । बिहानै मोटरसाइकलमा घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बिक्री गर्नु उनको दैनिकी बनेको छ।

रोजगारीका सिलसिलामा मलेसिया र भारतमा केही समय बिताएका ४५ वर्षे केसीले विसं २०७१ सालदेखि वैदेशिक रोजगारी छाडेर पशुपालनमा लागेका हुन्। “मलेसियामा तीन वर्ष काम गरे, त्यहाँबाट फर्केपछि कामको खोजीमा भारत पुगे । तर त्यहाँ पनि भने जस्तो काम पाउन सकिन, त्यसपछि घरमै पशुपालन गर्ने योजना बनाएँ”, उनले भने। उनका अनुसार पशुपालनबाट हाल मासिक २ लाख आम्दानी भइरहेको छ ।

उनी आफ्नो फार्ममा उत्पादित ३० लिटर र बाँकी गाउँमा उत्पादन भएको दूध सङ्कलन गरी बिक्री गर्छन्। विदेशमा जस्तै मेहनत गर्ने हो भने नेपालमा आम्दानी गर्न गाह्रो नहुने उनको बुझाइ छ। “विदेशमा १८ घण्टा काम गर्छौँ र कमाइ भएको देख्छौँ, तर स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ तर कमाइ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ”, केसीले भने। उनले हाल चारजना स्थानीयलाई रोजगारी पनि दिएका छन्।

उनी मालती बहुउद्देश्यीय पशु तथा कृषि फार्म स्थापना गरी पशुपालन गरिरहेका छन्। उनको फार्ममा १८ वटा भैँसी र तिनका पाडापाडी छन् । केही दूध डेरी पसल र होटलमा दिन्छन् भने बाँकी घरघर लगेर बिक्री गर्छन्।

“हरेक दिन बिहान ३ बजे उठेर भैँसीको स्याहारसुसार गरेर अँध्यारै घरबाट निस्कन्छु, र बिहान साढे नौ बजेसम्म दूध बेचिसक्छु”, उनले भने, “घरबाट निस्कनु अघि भैँसी र तिनका पाडापाडीको स्याहारसुसार गर्ने, दुहुने र उनीहरुका लागि आहारा तयार पारिसक्छु ।” केसीले पशुका लागि घाँस पनि आफै लगाएका छन् भने पराल र भुस पनि आफ्नै जग्गामा उत्पादन गर्छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्