Skip to content
Shikhar Insurance
National Life

विदेशबाट फर्केर मादल बनाउँदै कमल, वार्षिक ३ लाखभन्दा बढी आम्दानी 

Hyundai
NCELL
NIMB

वालिङ । बुवाबाट मादल बनाउने सीप सिकेका कमल गन्धर्वले अन्ततः यसैलाई आम्दानीको मुख्य स्रोत बताएका छन्। पाल्पाको रामपुरका गन्धर्वले स्याङ्जाको पुतलीबजार–१० राङखोलामा ‘प्रेम मादल उद्योग’मार्फत मादल उत्पादन गरी बिक्री गर्दै आएका हुन्।

बुवासित मादल बनाउने काम गर्दा गर्दै जागिरको खोजीमा विदेश पुगेका उनले विदेशको बसाइलाई बिटमार्दै फेरि मादल बनाउने पेसामै फर्किएका छन्। हाल उनले यसैलाई व्यावसायिक रुपमा अगाडि बढाउने योजनाका साथ सक्रिय भएका छन्।

“बुवासँगै मादल बनाउन सिक्नदै र बनाउँदै गर्दा कामको खोजीमा विदेश गएँ”, उनले भने, “पाँच वर्ष चार महिना विदेशी भूमिमा पसिना बगाएँपछि स्वदेश फर्किएर आफ्नै व्यवसाय सुरु गरेको हो ।”

राङखोलामा आफ्नो छुट्टै मादल उद्योग सञ्चालन गरेका गन्धर्वलाई नयाँ मादल बनाउने, मर्मत गर्नेलगायतका काम गर्न अहिले भ्याइनभ्याइ छ । ४ लाख लगानीमा व्यवसाय सुरु गरेका गन्धर्वले वार्षिक ३ लाखभन्दा बढी आम्दानी गरिरहेको बताए । नयाँ मादल बनाउनुकासाथै पुराना मादल, मिर्दुङ्गा, नगरा, डमरु, खैँजडी, नेवारी बाजा मर्मतबाट उनले आम्दानी गरिरहेका छन्।

“अहिले नयाँ बाजाका सेट तथा बाजाका सेट बनाउन र मर्मत गर्न भ्याइनभ्याइ छ”, उनले भने, “यहाँ उत्पादन भएका मादल तथा बाजाका सेटहरु स्याङ्जा, वालिङ, गल्याङ, पाल्पाको रामपुर, पोखरालगायतका ठाउँमा बिक्री हुने गरेको छ ।

मादल बनाउनका लागि रातो उत्तिसको काठ प्रयोग हुन्छ । काठ धादिङबाट आउने गरेको छ भने छाला भारतबाट ल्याउने उनले बताए। मादलको आकारअनुसार एक हजार ८ सयदेखि २ हजार ५ सयसम्ममा बिक्री हुन्छ । मागअनुसार काम गर्न कामदारको प्रयोग गर्दै आएका छन्।

“विदेशी भूमिमा बगाएको पसिना स्वदेशी भूमिमा बगाउन पाउँदा खुसी लागेको छ”, उनले भने, “विदेशको बसाई छोट्याएर फर्केपछि आफ्नै ठाउँमा सुरु गरेको पुर्ख्यौली पेसाबाट म सन्तुष्ट छु ।”

GBIME

प्रतिक्रिया दिनुहोस्