Skip to content
Shikhar Insurance
National Life

विदेशबाट फर्किएर भेडापालन, वार्षिक ३ लाख रुपैयाँ आम्दानी

Hyundai
NCELL
NIMB

म्याङ्लुङ । तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकुका सुमन गुरुङले विदेशमा भन्दा पनि आफ्नै घरगाउँमा आजकल राम्रो कमाइ गर्न थालेका छन् । चार वर्ष विदेश बसेर २ वर्ष अगाडि घर फर्किएका २७ वर्षीय गुरुङले स्वदेशमा नै भेडापालन गरे विदेशमा भन्दा राम्रो कमाइ गर्न थालेका हुन् ।

कोरोनाका कारण घर फर्किएका गुरुङ अब के गरेर जीवन चलाउने भन्ने सोचमा थियो। त्यत्तिकैमा आफ्नो पुख्र्यौली पेशा रहेको तर हाल लोपोन्मुख हुँदै गएको भेडापालन गरेर पनि आम्दानी लिन सकिने उनको मनमा आयो । त्यसैले विदेशबाट आएपछि आफ्नै गाउँ–ठाउँमा केही गर्ने मनसाय लिएका गुरुङलाई स्थानीय संस्था देउराली सोसाइटीले जागरुक बनाउन मद्दत गर्यो ।

अहिले भेडापालनबाट गुरुङले मासु र राडीपाखी बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । एउटै थुमालाई २० हजारदेखि ३० हजार रुपैयाँसम्ममा बेच्ने गरेको गुरुङले बताए। खसी, बोका, बङ्गुरभन्दा पनि भेडा बढीमा बिक्री हुने उनि बताउछन् । हाल गुरुङसँग ५० भन्दा बढी भेडा छन् ।

गुरुङले घर नजिकै गोठ बनाएर अहिले भेडा पालेका छन् । परिवारका आठ सदस्यको लालनपालन खर्च भेडापालनबाट हुने आम्दानीबाट चल्दै आएको उनले बताए। “घरखर्च कटाएर केही रकम बचत हुन्छ, गुरुङले भने, “अन्य व्यवसायभन्दा बढी आम्दानी हुने गरेको छ ।” गुरुङले भेडापालनबाट वार्षिक ३ लाख रुपैयाँको हाराहारीमा आम्दानी हुने गरेको बताए ।

देवी–देवतालाई बलि दिन र विभिन्न चाडपर्वमा खानका लागि भेडा किन्न ग्राहक गुरुङको घरमै आउने गरेका छन् । गाउँछेउकै जङ्गलमा प्रशस्त घाँसपात रहेकाले भेडापालन सहज भएको उनि बताउछन् । बिक्रीका लागि कसैलाई गुहार्नु पर्दैन, ग्राहक घरमै आएर लैजान्छन् । आफ्नै गाउँठाउँमा मेहेनत गरियो भने विदेशमा भन्दा राम्रो कमाइ हुने भएकाले विदेश नजान गुरुङ अरुलाई सुझाव दिँदै आएका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्