Skip to content
Shikhar Insurance
National Life

वर्षमान पुनले अर्थ मन्त्रालय सम्हालेपछि २ प्रतिशतले घट्यो राजस्व संकलन

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालय सम्हालेको पहिलो महिनाबाटै राजस्व संकलन घट्न थालेको छ । मन्त्री पुनले मन्त्रालय सम्हालेको पहिलो महिना नै भन्सार र आन्तरिक राजस्वमा गिरावट आएको हो ।

मन्त्री पुनले फागुन २३ गते मन्त्रालयको जिम्मेवारी लिदैं राजस्व संकलनलाई गतवर्षको तुलनामा २० प्रतिशत पुर्याउने बताएका थिए । उनले भनेका थिए, ‘राजस्व संकलन गतवर्ष भन्दा १० प्रतिशत मात्रै बढी उठेको रैछ, अब यसलाई २० प्रतिशत बनाउनु पर्छ, यो गर्न सकिन्छ ।’

राजस्वको प्राकृतिक वृद्धिदर नै २० प्रतिशत भएकोले राजस्व संकलन बढाएर खर्च समेत बढाउने बताएका थिए । तर तथ्यांकले भने मन्त्री पुनले भनेको भन्दा उल्टो देखाएको छ । फागुन २३ गते मन्त्रालय सम्हालेका पुनले चैत महिनामा आन्तरिक राजस्वतर्फ करिब १ प्रतिशत र भन्सार महसुलतर्फ करिब २ प्रतिशतले संकलन दर घटेको हो ।

भन्सार विभागले चालु वर्षको चैत महिनासम्म ३ सय ८ अर्ब राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७९/०८० को चैत महिनासम्म २ सय ८५ अर्ब राजस्व संकलन गरेको थियो । गतवर्षको तुलनामा चालु वर्ष २३ अर्ब बढी महसुल संकलन भएको छ । यो गतवर्षको तुलनामा ८ प्रतिशत वृद्धिदर हो ।

यस्तो वृद्धिदर फागुन महिनासम्म ९.८३ प्रतिशत बढी थियो । यसैगरी, आन्तरिक राजस्वतर्फ पनि गतवर्षको तुलनामा करिब १ प्रतिशतले राजस्व संकलनमा गिरावट आएको छ । चालु वर्षको चैत महिनासम्म आन्तरिक राजस्व विभागले ३ खर्ब ६७ अर्ब ९९ करोड राजस्व संकलन गरेको छ । गतवर्ष यो अवधिमा विभागले ३ खर्ब ३७ अर्ब १७ करोड राजस्व संकलन गरेको थियो ।

जसअनुसार वृद्धिदर ९.१४ प्रतिशत छ । यस्तो वृद्धिदर पुर्वअर्थमन्त्री प्रकाशशरण महतको पालामा ९.९९ प्रतिशत रहेको थियो । मन्त्री बनेपछि मन्त्री पुनले आन्तरिक राजस्व विभागमा सहसचिव भुपाल बराललाई सरुवा गरेर सहसचिव शिवलाल तिवारीलाई जिम्मा दिएका छन् । यस्तै, भन्सार विभागमा पनि सहसचिव शोभाकान्त पौडेलको सरुवा गरेर सहसचिव ढुण्डीप्रसाद निरौलालाई जिम्मा दिएका छन् ।

राजस्व विभागको महानिर्देशक फेरिने बित्तिकै राजस्व संकलनमै गिरावट आउनुले मन्त्री पुनमाथी दबाब बढाएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्