Skip to content
Shikhar Insurance
National Life

राष्ट्रपतिद्वारा गुह्येश्वरीमा सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेकी छिन ।

देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाइएको थियो ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लागेको छ । भजन एवं भक्ति सङ्गीतले पशुपति क्षेत्रको वाग्मती नदी किनारको वातावरण मेलामय बनेको छ ।

यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, विभिन्न स्थानका नक्खु खोला, विष्णुमती र वाग्मती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरिएको छ । जहाँ आज अस्ताउँदो सूर्यसँगै छठी माताको पनि पूजा आराधना गरिन्छ ।

गुह्येश्वरीमा यस वर्ष विगतमा भन्दा बढी छठ घाटको निर्माण गरिएको छ । विगतमा करिब पाँच सय छठ घाट निर्माण गरिएकामा यस वर्ष छ सयभन्दा बढी बनाइएको छ । एउटा छठ घाट एक हजार पाँच सय रूपैयाँ शुल्क लिएर भक्तजनलाई दिइएको छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए।

आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका बर्तालु सोमबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ ।

छठ व्रत गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने परम्परा सुरु भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्