काठमाडौं । चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरुको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सरकारलाई राजावादीहरुको प्रदर्शनबाट भएका घटनाहरुको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको हो ।
समितिको तर्फबाट समिति सभापति अम्मरबहादुर थापाले घटनामा संलग्नलाई कारबाही गर्न र यस प्रकारका घटनाहरु पुन: दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्नेगरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त राखि तयारी अवस्थामा रहन समिति सरकारलाई निर्देशन दिए । समितिले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । घाइतेको उपचारका लागि आवश्यक प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्