काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका डा बाबुराम भट्टराईले राजनीतिक प्रतिशोध साँधेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।
शुक्रबार पोखरास्थित कारागारमा सभापति लामिछानेलाई भेट्न पुगेका उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आफूहरुले नयाँ शक्तिको अभियान शुरु गरेपछि नयाँ राजनीतिक शक्तिहरुको उदय भइरहेको र नयाँ शक्तिकै सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रुपमा रविलाई चिनेको बताए ।
उनले सभापति लामिछानेलाई अस्वभाविक रुपमा दु:ख दिने काम भइरहेको र यो अन्यायपूर्ण रहेको बताउँदै सहकारी सम्बन्धी समस्या सरकारमा रहने तीन ठूला राजनीतिक दलहरुकै वरपर रहेको र पालैपालो सहकारीको रकम अपचलन गरिरहेको आरोप लगाए । भेटका क्रममा लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध लिएर समातिएको बताएको पनि पूर्वप्रधानमन्त्री भट्टराईले जानकारी दिए ।
उनले भने, ‘रविजीलाई मैले हामीले नयाँ शक्तिको अभियान शुरु गरेपछि जुन राजनीतिक शक्तिहरु उदय भइरहेको छ । ति मध्येको एउटा सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रुपमा बुझ्छु । त्यसैले उहाँप्रति सधैँ नै सद्भाव पनि छ । तर जुन प्रकारले अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दु:ख दिने काम भइरहेको छ । कानूनले आफ्नो बाटो लिओस् । त्यसको बहानामा राजनीतिक प्रतिशोध लिनु हुँदैन । रविजीले राजनीतिक प्रतिशोध नै लिएको हो, मैले सहयोग नै गरिरहेको छु भन्नेकुरा गर्नुभयो । सहकारी पीडितको समस्यालाई विषयान्तर गरिँदैछ । उनीहरुको समस्या समधान गर्नुपर्छ ।’
पूर्वप्रधानमन्त्री भट्टराईले सहकारी पीडितको समस्यालाई विषयान्तर गर्न खोजिएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्