Skip to content
Shikhar Insurance
National Life

राजधानीमा वायु प्रदूषण नियन्त्रणका लागि छोटो र दीर्घकालिन समाधानको बाटो खोज्न सांसदको माग

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले राजधानी काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलगायत फोहरको समस्या समाधान गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद उदयशमशेर जबराले काठमाडौं उपत्यकामा वायु प्रदूषण नियन्त्रणका लागि छोटो र दीर्घकालिन समाधानको बाटो खोजिनुपर्ने बताए।

राजधानी वरपरका वनमा डढेलो र काठमाडौं उपत्यकामा दुई किमी सडक निर्माण गर्न चार वर्ष लाग्ने गरेकाले पनि वायु प्रदूषण र फोहर बढेको उनको भनाइ थियो । सांसद असिम साहले सवारी चालक अनुमति प्रमाणपत्रलाई व्यवस्थित गरिनुपर्ने बताए।

सांसद उर्मिला माझीले महँगो र असमान शिक्षाका कारण भ्रष्टाचार बढेको, वर्षैपिच्छे पुस्तक फेरिँदा समस्या हुने गरेकाले तीन वर्षसम्म नफेर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। सांसद एकनाथ ढकालले यहाँको राहदानीले ३७ देशको मात्र भ्रमण गर्न पाइने भएकाले कूटनीति बलियो बनाउन अनुरोध गरे।

सांसद ऐनबहादुर शाही ठकुरीले तिब्बत्सँग सीमा जोडिएका हुम्लाका नाका खोल्न माग गरे। मुगुको खत्याड गाउँपालिकाबाट दुई दिन हिँडेर मात्र सदरमुकाम पुग्न सकिने भएकाले गाउँपालिकामै इलाका प्रशासन कार्यालय खोल्न उहाँले माग गर्नुभयो । सांसद कान्तिका सैँजुवाललले कर्णाली राजमार्गलाई गौरवको आयोजनाका रुपमा विकास गर्नुपर्ने बताए ।

सांसद गीता बस्नेतले राष्ट्रिय जनावर गाईको संरक्षाणका लागि सात सय ५३ वटै स्थानीय तहले गौशाला बनाउन बजेट छुट्याउनुपर्ने बताए। सांसद चन्दा कार्की भण्डारीले स्वास्थ्य महत्वपूर्ण विषय भए पनि राज्यको प्राथमिकतामा नपरेको भन्दै सरकारी अस्पताल व्यवस्थित हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराए।

सांसद छिरिङ लामा तामाङले गणतन्त्रको मर्मअनुरुप विकास निर्माणको काम हुनुपर्नेमा जोड दिए। खस सभ्यता मौलिक भएकाले सिञ्जामा प्रतिष्ठान नै स्थापना गर्न उनले आग्रह गरे । सांसद जावेगा खातुनले बर्दियाका किसानले सीमा क्षेत्रबाट मलखाद ल्याउँदा समस्या भोग्नुपरेकाले समाधान गर्न सरकारसँग आग्रह गरे। बैठकमा सांसदहरु अनिषा नेपाली, किरणकुमार साह, गोमा लाभ सापकोटालगायतले रोल्पामा विद्युत् कार्य अलपत्र बनेको, जनताको दैनन्दिन जीवनयापनमा समस्या हुँदा पनि तीन तहका सरकारको ध्यान जान नसकेकोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए।

GBIME

प्रतिक्रिया दिनुहोस्