Skip to content
Shikhar Insurance
National Life

मौद्रिक नीतिले सेयर बजारलाई राहत दियोः लगानीकर्ता

Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले बजारलाई राहत दिएको बताएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार र सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले मौद्रिक नीतिको समीक्षापछि सेयर बजार अझै बढ्ने बताए ।

 

बजारमा चलखेल गर्नेहरु निस्तेज भएः रौनियार

छोटेलाल रौनियार
अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम

हाम्रो लबिङ र मागलाई सम्बोधन गरेकोमा नेपाल राष्ट्र बैंकलाई धन्यवाद छ । हामी सबैलाई लगानीकर्तालाई बधाई छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिपछि नै सेयर कर्जा घटाउन खोजिएको थियो । हामी लगानीकर्ताहरुले राष्ट्र बैंकमा डेलिगेसन गएर वास्तविकता उजागर गरेपछि त्यतिबेला रोकिएको थियो । गभर्नर र डेपुटी गभर्नरको टिमले सेयर कर्जामा पुनरावलोकन गर्नु अघि लगानीकर्तासँग छलफल गर्ने बताउनु भएको थियो । अहिले अर्धवार्षिक समीक्षामा पनि सेयर कर्जाको सिमा घटाइँदै भन्ने ठूलो हल्ला थियो । पुँजी बजारको विकासमा राष्ट्र बैंक सकारात्मक छ ।

अहिले २७ लाख डिम्याट खाता खुलेका छन् । ३ लाखले अनलाइन खाता खोलेका छन् । एनआरएनहरु आफन्त र परिवारमार्फत लगानी गर्न आइरहेका छन् । खाडी मुलुकमा रहेका नेपाली दाजु भाइले पनि पुँजी बजारमा चासो देखाएका छन् । अनलाइनबाट उनीहरुले पनि लगानी गरिरहेका छन् । दैनिक १० अर्बको कारोबार हुन थालेको छ । अनलाइनमा पनि धेरै सुधार भइरहेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका कारण राष्ट्र बैंकप्रति लगानीकर्ताको विश्वास पनि बढेर गएको छ । यसले पुँजी बजारमा राम्रो सन्देश गएको छ । बजार घटाएर सस्तोमा किन्ने र सोझासाझा लगानीकर्तालाई डुबाउन चाहनेहरु निस्तेज भएका छन् । बजार हल्लाका भरमा चल्दैन, सत्य सूचनामा मात्रै भर पर्नुपर्छ भन्ने कुरा पनि स्थापित भएको छ ।

 

लगानीकर्तामा उत्साह थपिएको छः फुल्लेल

तारा प्रसाद फुल्लेल
उपाध्यक्ष, सेयर लगानीकर्ता संघ नेपाल

कोभिड–१९ को प्रभाव न्युनीकरण हुँदै गएको अवस्थामा पछिल्लो समयमा अर्थतन्त्रलाई सेयर बजारले चलायमान बनाएको केन्द्रिय बैंकको बुझाई रहेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा देखिएको छ । यससम्बन्धी नीति नियमलाई कुनै परिवर्तन नगरी पछिल्लो समय उत्साह थपिएको यस क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरूमा खुशिको किरण अवश्य छाएको छ । अर्धवार्षिक समीक्षा हुने तयारी भइरहँदा सेयर बजारका हामी लगानीकर्तामा बेला बेलामा विभिन्न भ्रम श्रृजना गर्ने मिडियामा आउने समाचारले केहि शंका उपशंकाहरू उब्जिनुका साथै लगानिकर्ताहरू आत्तिएका थिए । सेयर धितो कर्जाको सीमा परिवर्तन हुन सक्ने, लघुवित्त कम्पनीको सेयरमा बैंकहरुले लगानी गर्न नपाउने व्यवस्था आउने जस्ता हल्ला चलाई पत्रकारिता गरेको नाममा भ्रम श्रृजना गराएका थिए ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीति ल्याउने क्रममा सेयर धितोराखी प्रदान हुने मार्जिन प्रकृतिको कर्जा ७० प्रतिशत सम्म प्रदान गर्न सक्ने व्यवस्था मिलाएको र सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयरको मूल्याङ्कन गर्दा १२० दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ त्यसैको आधारमा गर्नु पर्ने व्यवस्थालाई निरन्तरता दिएको छ ।

केन्द्रीय बैंकले यसपटक सेयर बजारलाई असर गर्ने कुनै पनि प्रावधानमा परिवर्तन नगर्नु सेयर बजारका लागि निकै खुशीको कुरा हो । यसैगरी, केन्द्रीय बैंकले एसएलआर, सीआरआर तथा बैंक दरलाई पनि यथावत् राखेको छ । राष्ट्र बैंकको यो व्यवस्थाले निरासातर्फ उन्मुख बनेको बजारलाई थप उचाईमा पुर्याउन सहयोग गरेको छ ।मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाले भोलीबाट बजारमा नयाँ उत्साह थप्ने कुरामा आशावादि छौं ।

(फोरमका अध्यक्ष रौनियार र संघका उपाध्यक्ष फुल्लेलसँग गरिएको कुराकानीमा आधारित)

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE