Skip to content
Shikhar Insurance
National Life

मुख्यमन्त्री हुन्छु, प्रदेशलाई नाम दिन्छुः राजेन्द्र राई (अन्तर्वार्ता)

Hyundai
NCELL
NIMB

नव गठित नेकपा (एकीकृत समाजवादी)का सचिव राजेन्द्र राई विद्यार्थी संगठनको नेतृत्व गर्दा निकै चर्चामा आएका नेता हुन् । एमाले निकट अनेरास्ववियुको दुईपटक नेतृत्व गरेका राजेन्द्र मूल पार्टीले गणतन्त्रको नारा नलगाउँदै संगठनबाट गणतन्त्रको नारा पास गराएका थिए । जीवनका करिब साढे तीन दशक एमालेमा बिताएका राजेन्द्र अहिले नयाँ पार्टी नेकपा (एस) मा आबद्ध छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको सहमतिअनुसार प्रदेश–१ मा नेकपा (एस) नेतृत्वमा सरकार बन्ने दाबी गर्दै आएका छन् । यदि नेकपा (एस) नेतृत्वमा सरकार बने राजेन्द्र नै मुख्यमन्त्री बन्ने छन् । उनीसँग समसामयिक विषयमा गरिएको कुराकानी :

एमालेमा साढे तीन दशक संघर्ष गर्नुभयो, अहिले पार्टी नै फुटाएर अर्को पार्टी बनाउनु पर्ने अवस्था किन आयो ?
एउटा त सांगठनिक बाध्यता भयो । हामी पनि केपी ओलीसँगै वैधानिक रूपमा महाधिवेशनबाटै निर्वाचित भएको हो । उहाँले हामीलाई एक हिसाबले निष्कासन जस्तै गरेर आफ्नो छुट्टै बैठक आरम्भ गर्नुभयो । त्यसपछि तल–तल पनि उहाँले अधिवेशनबाट बनेका स्थानमा जहाँ आफ्नो अध्यक्ष छैन, अर्को कमिटी बनाउनु भयो । यो सबै कुरालाई मिलाउने प्रयास हामीले ६ महिना गर्यौं । केन्द्रदेखि तल वडा–टोलसम्म वैधानिक कमिटी चलाउन भन्दा उहाँले मान्नु भएन । उहाँले नमानेपछि संसद्मा पनि झगडा भयो । पार्टी कमिटीमा पनि झगडा भयो । उहाँले एकपछि अर्को गर्दै कारबाही गर्ने, बोलीवचनमा अपमान गर्ने, हामीले कार्यालय नै टेक्न नपाउने, बैठक नै देख्न नपाउने भइसकेपछि अब कति पर्खने ? उहाँ ६ महिनामा पनि मिल्न चाहनु हुन्न । १२ महिनामा पनि चाहनु हुन्न होला । चुनावसम्म पनि मिल्न चाहनु हुन्न होला । घर न घाटको हुने अवस्था भइयो । आफ्नो राजनीतिक सक्रियताका लागि ठाउँ निर्माण गर्न नयाँ पार्टी बनाउनुपर्ने अवस्था आयो ।

पार्टी फुटाउनु पर्ने सैद्धान्तिक कारण चाहिँ के त ?
केपी ओलीले कम्युनिस्ट पार्टीको नाममा यो पार्टीलाई गैरकम्युनिस्ट बनाउनु भयो । दाइ कांग्रेस, भाइ कांग्रेस जस्तो बनाउनु भयो । सरकारमा बसेर गरेको काम राम्रोसँग छानविन गर्ने हो भने उहाँ नेतृत्वको १० /१२ जना मन्त्री त सीधै जेल जाने अवस्था छ । त्यस्ता भ्रष्टाचार र अनियमितताका काण्ड भए । उहाँले कम्युनिस्टले नगर्ने काम ओम्नी काण्ड, ७० करोड काण्ड, एनसेल प्रकरणलगायतका काण्ड निम्त्याउनु भयो । दोस्रो, समाजवादको यात्रातर्फ उहाँले पाइला चाल्नु भएन । मानिसलाई न्याय र समानताको दिशामा, विभेदको अन्त्यको दिशामा जानुपर्ने । त्यस्ता ऐन बनाउनु भएन । निजी स्वामित्वलाई कमजोर पार्दै, अन्त्य गर्दै राज्यको स्वामित्व वा सामूहिक स्वामित्व बनाउँदै जानुपर्ने कम्युनिस्टको सिद्धान्त हो । शिक्षा–स्वास्थ्यमा राज्यको लगानी बढाउने, निजी स्वामित्व घटाउने अथवा जनताको आधारभूत आवश्यकताका कुरामा निजी क्षेत्रको स्वामित्व घटाउने, राज्यको बढाउने यस्तो ढंगले समाजवादको यात्रा सुरु गर्नुपर्ने यो विषयमा पनि केही भएन । त्यो हुँदा वैचारिक हिसाब र व्यावहारिक हिसाबले त्यो पार्टीलाई बुर्जुवा र पुँजीवादी पार्टीमा रूपमान्तरण गर्नुभयो । अब त्यहाँ बसेर कम्युनिस्ट पार्टीको लक्ष्य पूरा हुने अवस्था भएन । कम्युनिस्टका लक्ष्य उद्देश्य पूरा गर्न प्रतिबद्ध कम्युनिस्ट पार्टीको सुरुवात गर्ने अवस्था भयो । त्यही कारण नयाँ पार्टी खोल्यौं ।

प्रदेश–१ बाट तपाईं नेकपा (एस) को सचिव हुनुहुन्छ, तपाईंमाथि यो प्रदेशमा जनप्रतिनिधिको हिसाब गर्दा कमजोर पार्टी उठाउने जिम्मेवारी छ । कसरी अघि बढ्नु हुन्छ ?
हो, यही कुरा त छ । २० प्रतिशत हुनुपर्नेमा ५–७ प्रतिशत हुने । पार्टी फुट्नुको एउटा कारण नै यही हो । किनभने ५० प्रतिशत, ४५ प्रतिशत हुने अवस्थामा हिजो टिकट वितरण भएको थियो भने यो विद्रोहको अवस्था नै आउने थिएन । किनभने हिजो उहाँहरूले टिकट नै ३ प्रतिशत ५ प्रतिशत वितरण गर्नुभयो । धनकुटामा त शून्य प्रतिशत रहेछ । माधव नेपालको मान्छेले एउटा पनि टिकट पाएन । यही आधारले टिकट वितरण भएका कारण अहिले प्रतिशत थोरै छ । अन्यायपूर्ण ढंगले टिकट वितरण गर्ने, अन्यायपूर्ण ढंगले जिम्मेवारी दिने भएकै कारण त विद्रोह गर्नुभएको हो । तैपनि निरास हुनुपर्ने अवस्था छैन । अहिलेका भेलाहरू हेर्दा, मानिसहरूको उपस्थिति, उहाँहरूको उत्साह हेर्दा भविष्यमा राम्रै प्रभाव र संगठन विस्तार हुने देखिन्छ ।

हिजो एमाले फुटेर माले बन्दा मूलधार त एमाले नै भयो । माले त राजनीतिक रूपमा उठ्न सकेन नि ! तपाईंहरूको अवस्था पनि यस्तै हुने त हैन ?
अवस्था फरक छ । यसमा एउटा मात्र कुरा के छ भने जतिबेला माले जन्मियो त्यतिबेला एमाले एकदमै लोकप्रियताको उचाइमा चढ्दै थियो । मनोमोहनले चलाएको नौ महिने सरकारले जे आसाको काम गर्यो त्यो बेला जनतामा धेरै ठूलो आस पलाएको थियो । त्यो अवस्थामा त्यो पार्टी फुटाएको जनताले रुचाएनन् । त्यसकारण फुटेको पार्टीलाई जनताले साथ दिएनन् । अहिले फरक के छ भने केपी ओलीले चलाएको पार्टी र सरकारप्रति जनता यति रुष्ट छन् कि मान्छेले त्यसको विकल्प खोजिरहेका छन् । त्यो विकल्प हामी हौं । त्यसकारण यसको संगठन विस्तार, प्रभाव विस्तारमा समस्या हुँदैन । प्रदेश–१ मा विपक्षी गठबन्धनको बहुमत छ । अब अविश्वासको प्रस्तावबाट भीम आचार्यलाई हटाएर गठबन्धनको सरकार बन्ने निश्चित छ ।
गठबन्धनकै सबैभन्दा ठूलो दल कांग्रेसले तपाईंहरूलाई सरकारको नेतृत्व गर्न दिन्छ ?
हाम्रो गठबन्धनले पार्टीलाई एउटा प्रदेश र अन्य तीन पार्टीलाई दुई / दुई प्रदेश सरकारको नेतृत्वमा दिने गरी सहमति भएको छ । प्रदेश प्रमुख पनि यहीअनुसार हुनेछ । त्योअनुसार प्रदेश–१ र बागमती प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्छ । बागमतीमा केही समस्या छ । तर, प्रदेश–१ मा कांग्रेसले पनि दाबी गर्दैन । हाम्रो नेतृत्वमा सरकार बन्छ । नेकपा (एस) ले सरकारको नेतृत्व पाउँदा, तपाईं मुख्यमन्त्री बन्नु हुन्छ ।

अहिलेसम्म आएका मुख्यमन्त्रीको तुलनामा तपाईं के फरक काम गर्नुहुन्छ ?
म यही कार्यकालभित्र प्रदेशको नाम टुंगो लगाउँछु । दोस्रो, हिजो सरकारले पार्टीको कुरा कुनै सुन्दैन थियो । पार्टीसँग संयोजन गर्ने काम नै हुँदैन थियो । त्यो काम हुँदैन मबाट । म पार्टीको सल्लाह सुझावअनुसार सरकार चलाउँछु । हिजो सांसदलाई निरीह बनाउने काम गरियो । चाहे त्यो ऐन बनाउँदा होस् या बजेट बनाउँदा उनीहरूलाई हिजोको सरकारले निरीह बनाउने काम गरेको थियो । मचाहिँ सांसदको भूमिका प्रभावकारी बनाउँछु । जिल्ला जिल्लाबाट योजना छनोट गरेर पठाउँदा कहाँ कहाँका, दुई–चार महिना हाकिम भएर गएकाले निर्णायक भएर योजना पठाउने, तर त्यहाँबाट निर्वाचित सांसदले योजना छनोटमा भूमिका खेल्न नसक्ने अवस्था छ । यसलाई म रोक्छु । योजनाका हाकिमले सांसदसँग अनिवार्य सोधेर, सल्लाह गरेर योजना छनोट गर्ने अवस्था निर्माण गर्छु । हाम्रो थोरै पैसा छ । त्यहींमाथि विकास अफिसका हाकिमलाई १५–२० प्रतिशत खुवाएपछि मात्र काम हुने प्रवृत्तिको अन्त्य गरिनेछ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले २२ असोजका लागि संसद् अधिवेशन बोलाउनु भएको छ, भीम आचार्य विगतमा तपाईंकै नेता हुनुहुन्थ्यो, उहाँविरुद्ध मत हाल्नु हुन्छ ?
कुनै जटिल हुँदैन । अझ उहाँले धोका दिएका कारणले आक्रोश छ । विपक्षमा भोट हाल्न जटिलता वा अप्ठ्यारो केही छैन । धोकेबाजलाई सखाप पार्नुपर्छ भनेर साथीहरू व्यग्र प्रतीक्षामा छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्