Shikhar Insurance
National Life

माझीदाईका गुनासाे : दिनभरि काम गर्‍यो, फर्कदा रित्तै !

सिंहदरबार संवाददाता
२०८१ पुष ११, बिहीबार १०:२३
Hyundai
NCELL
NIMB

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका जोड्ने पुछिघाटको पुलमा यही असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्‍यायो । त्यसयता यहाँ प्लास्टिक र काठको गरी दुईवटा डुङ्गाबाटै ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ ।

पुछिघाटका अधिकांश मानिसहरूको खेतबारी सिन्धुलीको सुनाकोशी गाउँपालिकास्थित चैनपुरमा भएकाले यिनै डुङ्गाबाटै आउजाउ गरेर कृषिकार्य हुने गरेको छ । स्थानीयको दु:खमा सहारा बनेका डुङ्गा चालक भने यसबाट आफूहरूले कुनै सहुलियत नपाएको गुनासो गर्छन् । दिनभर डुङ्गा तार्ने तर साँझ घर फर्कंदा रित्तो हात हुने भएपछि जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ताले सताएको डुङ्गा चालक हिराबहादुर माझीको गुनासो छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनी भन्छन् ‘दिनभर डुङ्गा तार्दा कसैले दया लागेर चिया खाऊ भनेर दिएको २०/५० भन्दाबाहेक अरू कुनै आम्दानी हुँदैन । जिल्ला प्रशासनले पनि पैसा लिन मिल्दैन भनेको छ न त हाम्रो जीविकोपार्जनका लागि कुनै निर्णय गरिएको छ । यस्तो अवस्थामा आफ्नो घरपरिवार कसरी चलाउनु ?’

पुछिघाटको पुलभन्दा करिब दुई किलोमिटरभन्दा माथिको नदी क्षेत्रमा यी डुङ्गा चलाउने गरिन्छन् । अर्का डुङ्गा चालक साइते माझी पनि आफ्नो पारिश्रमिकका बारेमा कुनै निर्णय नहुँदा समस्या भएको बताए । ‘कहीँ कतैबाट कुनै किसिमको सेवासुविधा नपाएपछि हामीले गाउँमा पालो लगाएर डुङ्गा तार्ने व्यवस्था गरेका छौँ तर त्यो पनि खासै प्रभाकारी भइराखेको छैन’,उनले भने ।

यसरी डुङ्गा तार्ने चालकलाई राज्यबाट कुनै सेवासुविधा नहुँदा मन लगाएर निश्चित समयमा काम नहुँदा बालबालिका तथा शिक्षकहरूलाई विद्यालय जानआउन समस्या भइरहेको स्थानीय शिक्षक इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । उनले भने ‘पालिकाले वा जिल्ला प्रशासनको विपद् व्यवस्थापन समितिले समस्या समाधान गरिदिनुपर्‍यो । चालकलाई तलब दिनुपर्‍यो नभए डुङ्गा तर्नेसँग निश्चित रकम उठाउन पाउने व्यवस्था गर्नुपर्‍यो । नत्र डुङ्गा बन्द हुने अवस्था आउँछ ।’

यहाँको डुङ्गाबाट सुनकोशी नदी तरेर खाडाँदेवी गाउँपालिका–४ का करिब २६ जना विद्यार्थी र शिक्षक सुनकोशी गाउँपालिकाको खाल्टेमा रहेको श्री दीर्घ प्रदीप माध्यामिक विद्यालयमा अध्ययन अध्यापन गर्न र पचासभन्दा बढी कृषकहरू दैनिकजसो वारपार गर्छन् । माझीलाई सन्तुष्ट पार्न नसक्दा समस्या भइरहेको स्थानीय विन्दा नेपालीले बताइन् ।

स्थानीय विद्यार्थी विना माझीले विद्यार्थीले तालिमसमेत नदिएका डुङ्गा चालकसँग जोखिमपूर्ण यात्रा गर्नुपर्ने वा अलिपर रहेको भत्केको झोलुङ्गे पुलमा झुन्डिएर थप जोखिमको सामना गर्दै दैनिकजसो आउजाउ गरिरहनुपरेको गुनासो गरे । लामो समयसम्म कुर्दा पनि डुङ्गा चालक नआउने भएपछि विद्यालयमा ढिला पुग्नुपर्ने र शिक्षकहरूको गाली खानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले समस्याबारे आफूहरू जानकार रहे पनि समाधानका लागि पालिकामा बजेट नभएकाले चालकलाई तलब र जीर्ण पुलको मर्मत गर्न नसकिएको बताए । उनले डुङ्गा चालकका समस्या सम्बोधनका लागि भने छलफल अगाडि बढाइएको जानकारी दिए । यहाँबाट दैनिक रूपमा आवतजावत गर्ने करिब दुई सयभन्दा बढी मानिस प्रभावित भइरहेकाले समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको खाँडादेवी गाउँपालिका–६ का अध्यक्ष नारायण कार्कीको आग्रह छ । ‘हामीले समस्या समाधान गर्ने स्रोत छैन । स्रोत भएका निकायले पुल निर्माण नहुँदासम्म तत्कालका समस्या समाधानमा ध्यान दिनुपर्छ’,उनले भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्