Shikhar Insurance
National Life

माघे सङ्क्रान्तिका लागि टोखावासीलाई चाकु बनाउन भ्याइनभ्याइ

सिंहदरबार संवाददाता
२०८१ पुष २६, शुक्रबार ११:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । माघे सङ्क्रान्ति आउन अब केही दिन मात्र बाँकी छ । यस समयमा काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश नेवार समुदाय चाकु बनाउनमा व्यस्त छन् । काठमाडौं उपत्यकाको उत्तरी भेगको मध्य भागमा रहेको प्राचिन शहर टोखा नेवार बस्ती हो । ‘टोखा’ नामको बारेमा एउटा किंवदन्ती छ । वर्षौं पहिले त्यहाँ धेरै फाँटहरु थिए जहाँ उखु खेती गरिन्थ्यो ।

नेपाल भाषामा ‘टु’को अर्थ उखु र ‘ख्य:’को अर्थ फाँट भन्ने बुझिन्छ । पहिलेपहिले गाउँमा उखु धेरै हुने भएर ‘टुख्य:’ भनिन्थ्यो । पछि अपभ्रंश हुँदै टोखा भन्न थालियो । टोखामा सामुहिक उखु खेती गरेर त्यहीँको उखुले परम्परागत रुपमा चाकु बनाउने गरिन्थ्यो । तर अहिले गुठीको जग्गा विक्री हुँदै मासिएपछि टोखामा अन्यत्रबाटै उखु ल्याएर चाकुको व्यावसायिक उत्पादन गरिँदै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

माघे सङ्क्रान्ति नजिकिएसँगै टोखावासीलाई चाकु बनाउन भ्याइनभ्याई छ । सुरुसुरुमा उपत्यकामा मात्र चाकुको माग हुने भएपनि अहिले देशभरबाट माग आउन थालेको चाकु व्यवसायीहरु बताउँछन् । चाकु खाँदा शरीरमा चिसो नपस्ने र रोगसँग लड्नसक्ने क्षमता विकास हुने विश्वास गरिन्छ । टोखामा चाकु बनाउन व्यवसायीहरु त व्यस्त छन् नै उपत्यका र उपत्यकाबाहिरबाट चाकु किन्न आउने व्यापारीको समेत बजारमा चहलपहल बढेको छ ।

टोखा बजारमा चाकु उत्पादन गर्ने व्यवसायीहरुका लागि समाज नै गठन गरिएको छ । मागअनुसारको चाकु उत्पादन गर्दै आइरहेको टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठ बताए । उनले बजारमा चाकुको मागअनुसार उत्पादन गर्न समस्या भइरहेको बताए । बजारमा सख्खरको मूल्य बोरामा दुई/तीन सय रुपैयाँले बढेको भएपनि चाकु भने पुरानै भाउमा बेच्नुपरेको उनको भनाइ छ ।

टोखामा चाकुको भाउ प्रतिकिलो १०० रुपैयाँदेखि १४० रुपैयाँसम्म रहेको अध्यक्ष श्रेष्ठले बताए । आफूहरुले चाकुको मूल्य तोक्नको लागि बैठक नै आह्वान गरेको भएपनि विचौलियाको कारण समस्या भएको उनको दुखेसो छ । विचौलियाहरुलाई चाकु धेरै दिन राख्न नमिल्ने भएका कारण सस्तोमा दिन्छन् भन्ने सोच विकास भएको कारण आफूहरुले उचित मूल्य पाउन नसेकेको श्रेष्ठले गुनासो गरे ।

तेस्रो पुस्ताले धानेको चाकु व्यवसाय

टोखावासीले चाकु बनाउन थालेको वर्षौं भयो । अहिले टोखाको तेस्रो पुस्ताले चाकु व्यवसाय धानिरहेको छ । शुरुमा उखु उत्पादन धेरै हुन्थे । समयक्रमसँगै उखु उत्पादन हराउँदै गएपनि टोखाबासीले चाकु उत्पादन गर्ने पूर्खाको परम्परा भने छोडेनन् । अहिले चाकुका लागि आवश्यक कच्चा पदार्थ तराई क्षेत्रबाट ल्याइने गरेको छ । टोखा चाकु प्रोडक्शनका सञ्चालक हंसराज श्रेष्ठले चाकु व्यवसाय शुरु तीन पुस्ता भएको सम्झिँदै भने, ‘हामीले चाकु व्यवसाय शुरु गरेको तीन पुस्ता भएको छ । बाजेले बनायो, बुवाले बनायो अहिले म तेस्रो पुस्तामा काम गरिरहेको छु । चाकुको व्यापार सिजनल व्यापार हो । सिजनमा चकाचक त भइहाल्छ नै । हामीलाई सिजनमा चाकुको माग पूर्ति गर्न धेरै नै गाह्रो छ । काम गर्नको लागि म्यान पावर पुगेको हुँदैन ।’

चाकु व्यवसायको पुस्तान्तरण हुँदै जाने उनकाे विश्वास छ । माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउन बिहान ४ बजेदेखि ११ बजेसम्म खट्ने गरेको उनले सुनाए । चाकुले चिसो हटाउन सहयोग गर्ने र सुत्केरी आमाका लागि समेत फाइदाजनक हुने विश्वास रहेको उनले बताए ।

चाकुलाई नेपाली चकलेटको रुपमा चिनिने भएकोले यसको ब्राण्डिङ गर्नुपर्ने आवश्यकता रहेको व्यवसायीहरु बताउँछन् । चाकु नेपाली चकलेटको रुपमा काठमाडौं उपत्याकामा मत्र नभई उपत्यका बाहिरका शहरहरुमा समेत माग बढेको र अमेरिका बेलायत लगायतका देशहरुबाट समेत माग आउने भएकोले यसको ब्राण्डिङ गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ । चाकुका लागि आवश्यक पर्ने सख्खर बाहिरबाट मगाउनुपर्ने बाध्यता रहेकोले यसको गुणस्तरलाई नापेर ब्राण्डिङ गर्न तीन तहको सहकार समन्वयकारी भुमिका खेल्न आवश्यक रहेको व्यवसायीहरु बताउँछन् ।

चाकु व्यवसायीलाई सरकारले सहयोग गरोस्

चाकुको माग बढेर धान्न नसक्ने स्थिति पुगेको भएपनि अहिलेसम्म सरकारले भने केही सहयोग नगरेको व्यवसायहीहरुको गुनासो छ । आफ्नो तीन पुस्ताले चाकुको व्यवसाय गरेरै जीवन धानेको भएपनि सरकारले प्रोत्साहन नगरेको टोखा चाकु प्रोडक्शनका सञ्चलाक हंसराज श्रेष्ठको दुखेसो छ ।

सरकारले सहुलियतमा कच्चापदार्थ र आवश्यक सामानहरु उपलब्ध नगराएको कारण समस्या भोग्नुपरेको उनको भनाइ छ । टोखाको चाकुको विदेशमा समेत माग बढ्दै गइरहेको भएपनि सरकारले विदेश पठाउन स्वीकृति नदिँदा विचौलियाकै भर पर्नुपरेको उनको भनाइ छ । सञ्चालक श्रेष्ठले चाकुको सिजनमा मात्र सरकार सक्रिय हुने र सिजन सकिएसँगै निष्क्रिय हुने प्रवृत्तिले चाकु व्यवसायीहरु निराश हुनुपरेको बताए । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै नेवार समुदायमा काजकिरियाको बेलामा पनि चाकु खाने प्रचलन रही आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्