Shikhar Insurance
National Life

महासंघको दुई दिने सम्मेलन: अर्थतन्त्रमा देखिएका समस्या पहिचान गर्दै लगानीमैत्री वातावरण निर्माणमा जोड

सिंहदरबार संवाददाता
२०८१ पुष १४, आईतवार १७:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान तथा नीति निर्माणका सन्दर्भमा आयोजित विस्तारित बैठक सम्पन्न भएको छ । नवलपूरको गैँडाकोटमा आयोजित बैठकले महासंघलाई थप बलियो र उद्यमी व्यवसायीहरुका समस्या समाधानमा नीति निर्माण तहमा पहल गर्न एक्यवद्ध र बलियो संगठनका रुपमा महासंघलाई विकास गर्ने निर्णय गरेको छ ।

महासंघको विस्तारित बैठकको उद्घाटन शत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०७२ सालमा संविधान बनेपछि मात्रै मुलुकमा आर्थिक विकास र समृद्धि प्रमुख एजेण्डा बनेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले संविधान बन्नु अगाडीका २० वर्ष नेपाल द्वन्द, बन्द–हड्ताल र संक्रमणकालमै बिताउनु परेको समेत स्मरण गरे । ‘हामीले १० वर्ष माओवादी द्वन्द्वका नाममा गुमायौँ, त्यसपछिका १० वर्ष संविधान निर्माणका नामको संक्रमणकालमा गुमायौँ,’ महासचिव पोखरेलले भने, ‘त्यतिबेला बन्द हड्ताल हुन्थ्यो, कुन दिन चाहिँ बन्द हड्ताल हुँदैन र आफ्नो काम गरौँ भन्ने सम्मको अवस्था थियौं, यसरी हामीले २० वर्षको उर्वर समय त्यसै गुमायौँ ।’

उनले संविधान जारी भएपछि बल्ल संविधानमै राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादको आधार तयार गर्ने भनेर लेखिएको र त्यसयता मात्रै आर्थिक विकास र समृद्धि मुलुकको प्रमुख एजेन्डा बनेको बताए ।

जसको नेतृत्व मूलत: संविधान निर्माण पछि बनेको नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारबाट सुरु भएको उनको भनाइ छ ।यसैगरि, अहिलेको आर्थिक संकट कोभिडले मात्रै निम्त्याएको नभई मुलुकको राजनीतिक अस्थिरताको उपजसमेत भएको महासचिव पोखरेलको दाबी छ ।

‘आजको आर्थिक संकट कोभिडले मात्रै निम्त्याएको होइन, नेपालको राजनीतिमा अस्थिरताको दुस्चक्र सुरु भएपछि आर्थिक संकट चुलिन थाल्यो, खासगरि नेकपाकालिन केपी ओलीको सरकारलाई गैरकानूनी रुपमा ढालिएपछि उद्योग व्यवसायको क्षेत्रमा अविश्वास बढ्यो, आजसम्म पनि उद्यमी व्यवसायीको मनोबल बढ्न सकेको छैन’ महासचिव पोखरेलले थपे, ‘बैंकमा लगानीयोग्य रकम पर्याप्त छ, विदेशी मुद्राको सञ्चिती इतिहासकै उच्च छ, ब्याजदर पनि कम छ, दुई ठूला राजनीति दल मिलेर सरकार बनाएका छन्, तर पनि लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । यसर्थ, अब उद्यम व्यवसायका लागि प्रतिकुलता हटेर गएको छ, अहिले अनुकुल समय छ ।’

उनले कानुनले उद्यम व्यसायका लागि सहजीकरण गर्नुपर्ने बताउँदै वर्तमान सरकारले असजिला कानुनहरु परिमार्जन गर्दै उद्यमी व्यवसायीका लागि सहजीकरण गर्ने विश्वास दिलाए । साथै, प्रधानमन्त्री कार्यालय मातहत रिफर्म युनिट बनाउन लागिएको र यस्तो युनिट सबै मन्त्रालयमा रहने उनले जानकारी पनि दिए ।

कार्यक्रममा दोस्रोशत्रको प्रमुख आतिथ्यता गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले उद्यमी व्यवसायीहरु फुर्सदिला हुनु भनेको मुलुकको अर्थतन्त्र ठिकठाक अवस्थामा छैन भन्ने संकेत भएको बताए ।

उनले आर्थिक समृद्धि, विकास लगायतका अर्थतन्त्रको विस्तारसँग जोडिएका एजेण्डाहरुको सुरुवात नेकपा एमालेले गरेको र यसको नेतृत्व पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेको बताउँदै अहिले उद्यमी व्यवसायीहरुका गुनासा र अफ्ट्यारा सुन्न सरकार बनेको बताए ।

‘उद्यमी व्यवसायीहरुका समस्या, गुनासा, असजिला के हुन्, तिनलाई सम्बोधन गर्ने गरि वर्तमान सरकार अघि बढेको छ, उद्यमी व्यवसायी र लगानीलाई प्राथमिकतामा राखेको छ’ उनले भने, ‘कानुन सुधार गर्ने, संशोधन गर्ने, नयाँ बनाउनुपर्ने भए बनाउने बाटोमा वर्तमान सरकार अघि बढेको छ । यसर्थ, अब निराशालाई चिर्दै आशाको सञ्चार सुरुवात भएको छ ।’

कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडाले सरकार र निजी क्षेत्र तथा सरकार र उद्यमी व्यवसायी भनेका सधैंका सहयात्री भएको बताएका छन् ।

उनले वर्तमान सरकार लगानीमैत्री वातावरण बनाउँदै स्वदेशी तथा विदेशी पूँजीलाई आकर्षित गर्ने अभियानमा रहेको र यसका लागि कानुनमा गर्नुपर्ने सुधारसमेत अघि बढाइसकेको जानकारी दिए । भौतिक पूर्वाधारको विकाससँगै अर्थतन्त्रलाई थप सुधार गर्ने र लगानीलाई आकर्षित गर्दै रोजगारी सिर्जना गर्ने कुरा वर्तमान सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ ।

बैठकमा उद्योग तथा व्यवसायी महासंघकी इन्चार्ज रचना खड्काले उद्यमी व्यवसायीका गुनासा वर्तमान सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गरिन् । यसका लागि उद्यमी व्यवसायीहरुबीच एकता कायम हुनुपर्ने र यस महासंघले बोलेको आवाज सुन्नैपर्ने बनाउन आफ्नो शक्ति पनि बढाउनुपर्ने उनको भनाइ छ ।

‘यस महासंघको आवाज सरकारले सुन्नैपर्छ, सुन्छ’ उनले भनिन्, ‘यसका लागि हामीले आफूलाई पनि त्यस अनुसार तयार गर्नुपर्छ । मलाई विश्वास छ, महासंघ त्यसका लागि तयार हुँदैछ, वर्तमान सरकारप्रति पनि मेरो विश्वास छ, सरकारले यस महासंघको आवाज सुन्नेछ ।’

बैठकमा नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटाले विसं २०१२ देखि नै नेपालको अर्थतन्त्र सुल्टो खुट्टाले हिड्न छोडेको बताए ।

उनले ऋण लिने क्रम २०१९ तिरबाट सुरु भएको र त्यसयता ऋण तिर्न ऋण लिने क्रम बढेको समेत स्मरण गराए । तर, २०४७ पछि एमालेले आफ्नो गाउँ आफैं बनाउँ अभियान सुरु गरेर मुलुकको अर्थतन्त्रलाई सुल्टो बाटो हिडाउन खोजेपनि लगत्तै सुरु भएको माओवादी युद्धले मुलुकको अर्थतन्त्रलाई तहसनहस बनाएको उनको भनाइ छ ।

यसैगरी संसारभर निजी क्षेत्रलाई राज्यले संरक्षण गर्ने गरेको बताउँदै उनले नेपालमा भने निजी क्षेत्रले संरक्षित छु भन्ने अनुभूति गर्न नपाएको गुनासो गरे ।

‘जापानको टोयोटालाई सरकारले १७ वर्ष लगानी गर्यो, कोरियाको सामसुङलाई त्यो देशको सरकारले संरक्षण गरेर पछि हस्तान्तरण गरेको हो, तर नेपालमा यस्तो संरक्षण छैन’ उनले भने, ‘अब नागरिकलाई उत्पादनमा जोड्न आवश्यक छ, राजनीति पार्टीले आर्थिक एजेण्डामा छलफल गर्नुपर्छ ।’

उनले अहिले सरकारले साना, घरेलु र मझौला उद्योगहरुको मनोबल बढाउँदै ठूला उद्योगहरुको समेत संरक्षण गर्दै अर्थतन्त्र सुधारमा केन्द्रित हुनुपर्ने समेत धारणा राखेका छन् ।

गैडाकोटमा तीन दिनसम्म चलेको उक्त सम्मेलनले नेपालका उद्योग व्यवसाय र समग्र अर्थतन्त्रमा देखिएको वास्तविक समस्या पहिचान गरी त्यसलाई समाधान गर्न निचोड निकालेको आयोजकको दावी छ ।

साथै, उद्योगी व्यवसायीहरुका समस्याहरुको पहिचान गर्दै तिनको समाधान गर्न सम्पूर्ण संगठनलाई परिचालित गर्ने गरी महासंघलाई सिङ्गो मुलुक र जनताको भरपर्दो साथिको रुपमा रुपान्तरण गर्ने निर्णय समेत गरेको छ ।

महासंघको दुई दिने बैंठकले अहिले देखिएको अन्यौलतालाई चिर्दै देशमा लगानीमैत्री वातावरण निर्माण गर्न माहौल सिर्जना गरेको संयोजक सापकोटाले जानकारी दिए साथै महासंघको सचिवालय बैंठक सहित तीन दिनसम्म चलेको उक्त भेला देशको अर्थतन्त्र चलायमान बनाउँदै उद्योगी व्यवसायीको मनोवल उच्च बनाउन कोसेढुंगाको काम गरेको समेत संयोजक सापकोटा बताउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्