Skip to content
Shikhar Insurance
National Life

भ्रष्टाचारविरूद्ध सतिसालझैँ उभिन्छुः प्रधानमन्त्री

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताएका छन् ।

आज कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सरकारको सङ्कल्पबाट भ्रष्टहरू तर्सिएको बताएका हुन् ।

उनले भने, “सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु । भ्रष्टहरूमाथि कारबाही सुरू भएको छ । ललिता निवासको फाइल फेरि खोलिएको छ । यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला, थप फाइलहरू खोलिन्छ र कारबाही गरिन्छ ।”

पछिल्लो समय माओवादी शक्तिहरुबीचको एकताको राम्रो आधार बन्दै गइरहेको उल्लेख गर्दै उनले वृहत कम्युनिष्ट एकतासहित अगाडि बढिने बताए। “२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौँ तर, पार्टी एकताबद्ध हुनसकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो”, प्रधानमन्त्री दाहालले भने, “फेरि एउटा नयाँ परिस्थिति बनेको छ । माओवादी शक्तिबीच एकताको राम्रो आधार बन्दैछ । पार्टी एकता संयोजन समिति बनाइन्छ र वृहत एकतासहित अगाडि बढिन्छ ।”

वर्तमान सरकारले जन चाहनाअनुसार आफ्नो काम कारबाही अगाडि बढाएको जनाउँदै उनले राम्रा काम गर्न थालेपछि सरकारलाई अप्ठ्यारोमा पार्ने षड्यन्त्र सुरु गरिएको बताए।

“घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी छ, जुन नीति हिजो पनि थियो”, उनले भने, “यो आफैँमा वर्गसङ्घर्ष हो । वर्गसङ्घर्षको चरित्रमा फेरबदल आएको छैन, रूप मात्रै फेरिएको हो । २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरी परिणाम दिनुपर्छ, दिन्छौँ ।”

सामाजिक न्याय, सुशासन र समृद्धिका लागि आफू जहिले पनि समर्पित हुने दृढता व्यक्त गर्दै उनले सरकारलाई असफल पार्ने तत्वलाई जनताले तह लगाउने बताए।

“इतिहासको तागतको बलमा हामी सरकारमा छौँ, कतिलाई यो कुरा पचिरहेको छैन । भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरू विक्षिप्त र हैरान भएका छन्”, उनले भने, “तर, हामी देश र जनताको पक्षमा लागिरहन्छौँ । सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुन्छौँ । सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्र छन् । तर, तिनीहरूलाई जनताले नै ठीक पार्छन् ।”

GBIME

प्रतिक्रिया दिनुहोस्