Skip to content
Shikhar Insurance
National Life

भूमिसम्बन्धी समस्या सम्बोधन गर्न क्रान्तिकारी निर्णय लिने सोच बनाएको छुः प्रधानमन्त्री

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँंदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताएका छन्।

राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले भूमिसम्बन्धी समस्या समाधानका निम्ति सरकार गम्भीर रहेकाले सोही बमोजिम कार्यसम्पादन गर्न आयोगलाई निर्देशन दिएका हुन्। छलफलका क्रममा प्रधानमन्त्री दाहालले भने, “भूमि व्यवस्थाको दीर्घकालीन समाधान आवश्यक छ । यसपटक मैले मन्त्रिपरिषद्को बैठकबाट भूमिसम्बन्धी केही क्रान्तिकारी निर्णय लिने सोंच बनाएको छु । पटक–पटक उही समस्या बल्झिएर भूमिसम्बन्धी समस्या भूमरीमा पर्नुहुँदैन । हामीले वैज्ञानिक र दीर्घकालीन समाधान दिनुपर्छ ।”

भेटमा प्रधानमन्त्री दाहालले सुकुम्बासी, अव्यवस्थित बसोबासीलगायत भूमिहीनका समस्या दीर्घकालीन रूपमा सम्बोधन गर्ने कामलाई प्राथमिकता दिन निर्देशन दिए । उनले भने, “धेरै वर्षदेखि हामी एउटै समस्यामा अल्झिरहेका छौँ । अब यसलाई सदाका लागि समाधान गर्नुपर्छ ।”

गाँस र बास जनताको पहिलो आवश्यकता भएको उल्लेख गर्दै उनले यसलाई गम्भीरताका साथ बुझेर काम गर्न निर्देशन दिए। “नीतिगत रूपमा गर्नुपर्ने काम सरकारले गर्छ । यसपटक यो समस्या सदाका लागि सम्बोधन गर्नैपर्छ”, उनले भने ।

प्रधानमन्त्री दाहालले बजेटको सिलिङ बढाउन पहल भइरहेको जानकारी दिए। उनले भने, “अर्थतन्त्र सङ्कटमुक्त भइसकेको छैन । तर पैसा छैन भन्दैमा हामीले काम गर्न र पहल लिन छोड्नुहुँदैन । जहाँ संकट हुन्छ, त्यहाँ सम्भावना पनि हुन्छ ।”

अझ धेरै मेहेनत गरेर अर्थतन्त्र सुधार्ने र विकासलाई तीव्रता दिनेगरी काम गर्नुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए। भेटमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मन्त्रालयका सचिव डा दामोदर रेग्मी, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्कालगायत आयोगका पदाधिकारीको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्