काठमाडौं । स्टक ब्रोकर एसोसियसनको अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा ४५ मत ल्याउँदै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् । ढकालका प्रतिष्पर्धी राजकुमार तिमिल्सिनाले ४३ मत प्राप्त गरेका थिए ।
पुराना ब्रोकरको संघ र नयाँ ब्रोकरको संगठनबीच मर्ज पश्चात सम्पन्न भएको पहिलो निर्वाचनमा नयाँ ब्रोकरहरुका तर्फबाट चुनावी मैदानमा रहेका ढकालले बाजी मारेका हुन् ।
मतदान दिउँसो काठमाडौंको एभरेष्ट होटलमा भएको थियो । मतदान गणनापछि ढकाल अध्यक्षमा चयन भएका हुन् ।
दुईवटा स्टक ब्रोकर्स र धितोपत्र ब्रोकर्सबीचको मर्जरपछि बन्न लागेको नयाँ कार्यसमिति चयन गरिएको हो । यसअघि ढकाल धितोपत्र ब्रोकर्स अध्यक्ष थिए । ढकाल हिमालयन ब्रोकरेज (स्टक ब्रोकर नम्बर ६३) का अध्यक्ष हुन् ।
यसैगरी उपाध्यक्षमा नितेशकुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा विनय रेग्मी चयन भएका छन् । यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्