काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्ष (एनबीए) मा माछापुछ्रे बैंकका कार्यकारी अधिकृत (सिइओ) सन्तोष कोइराला बन्ने लगभग पक्का भएको छ । औपचारिक अध्यक्ष बुधबार (पुस ३ गते) हुने साधारण सभाले अन्तिम रुप दिनेछ ।
अध्यक्ष बन्नका लागि प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन र सन्तोष कोइरालाले इच्छा देखाएका थिए । पुर्व अध्यक्षहरुले जसरी पनि मिलेर जानु पर्ने रटान लगाएपछि सहमति जुटेको हो । एनबीए स्रोतले भन्यो, “यसअघि निर्वाचन हुने भनिएको अध्यक्ष पदमा सहमति भएको छ, हालका उपाध्यक्ष सन्तोष कोइराला नै अध्यक्ष बन्ने सहमति भएको छ ।”
यसैगरी, उपाध्यक्षमा ग्लोबल आइएमई बैंकका सिइओ सुरेन्द्र रेग्मी उपाध्यक्ष बन्ने भएका छन् ।
तीन सदस्यहरुमा नेपाल बैंकका सिइओ तिलकराज पाण्डे, कुमारी बैंकका सिइओ रामचन्द्र खनाल र एभरेष्ट बैंकका सिइओ सुदेश खालिङ दोस्रो कार्यकाल पनि सदस्य बस्ने भएका छन् ।
को हुन् कोइराला
भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा न. ४ (साविकको सिद्धेश्वर गाबिस–६ मा जन्मिएका कोइरालाले कक्षा २ सम्म स्थानीय दुर्गेश्वर प्राविमा पढेका थिए । अलि परको सिद्धेश्वर माविमा कक्षा ५ सम्म पढेपछि कोइरालाको परिवार झापा बसाइसकेको थियो । कोइरालाले झापाको चन्द्रगढी–६(हाल भद्रपुर नगरपालिका–६) स्थित विरेन्द्र माविबाट कोइरालाले २०४५ सालमा एसएलसी उतिर्ण गरेका हुन् ।
त्यसपछि उनी इञ्जिनियर अमृत साइन्स क्याम्पस(अस्कल)मा भर्ना थए । २०४६–४८ मा आईएससी उतिर्ण भए । मेची बहुमुखी क्याम्पसमा २०४८ देखि २०५१ सम्ममा बिकम पास गरेका छन् । उनले २०४८ देखि २०५२ सालको बिचमा झापा र काठमाडौंमा विभिन्न विद्यालयहरुमा अध्यापनको अनुभव छ ।
२०५६ देखि २०५८ सालमा त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट तर्फबाट एमबिए पास गरेका कोइरालाले नेदरल्याण्डबाट एडभान्स लिडरशिप म्यानेजमेन्टमा डिप्लोमा कोर्ष पनि पुरा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्