Skip to content
Shikhar Insurance
National Life

बैंकमा पैसा छैन, ४ करोड नगदसहित पक्राउ पर्छन् चिनियाँ नागरिक

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रहरीले स्रोत नखुलेको रु तीन करोड ८९ लाख १३ हजार नगदसहित एक नेपाली र चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले नुवाकोटबाट काठमाडौँ आउँदै गरेको सुभारु कम्पनीको कारमा दुई प्लाष्टिकको बोरामा रकम लुकाएर ल्याउँदै गरेको अवस्थामा आज उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–८ का ४४ वर्षीय फूलबहादुर गुरुङ तथा चिनियाँ नागरिक ५० वर्षीय आउङ जाइकिङ, ४९ वर्षीय जान तो, ३१ वर्षीय मेङ युङ सुङ र २६ वर्षीय माउजैन हउ छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले स्रोत नखुलेको रकम बोकेर आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरुबाट प्रहरीले रु एक हजार दरको ३६ हजार ४१३ थान, रु ५०० दरको पाँच हजार एक थान, रु १०० दरको दुई थान, रु २० दरको एक थान रकम बरामद गरेको हो । पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पुल्चोक पठाएको प्रवक्ता मैनालीले बताए ।

यसैगरी नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई महिला पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै झुक्यानमा पारेर खातामा पैसा नभएको चेक दिएर बैंकिङ कसुर गर्ने सुनसरी घर भई काठमाडौँको बानेश्वर बस्ने ४२ वर्षीय कविता सुब्बा र सिन्धुपाल्चोक घर भई काठमाडौँको बानेश्वर बस्ने ३९ वर्षीय लिना श्रेष्ठ गिरीलाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जाहेरवालालाई झुक्यानमा पारेर खातामा रकम नभएको चेक दिई बैंकिङ कसुरजन्य अपराध गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले सुब्बालाई कालोपुल र गिरीलाई नयाँबस्तीबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले पक्राउ परेकी सुब्बालाई विसं २०७६ फागुनमा १५ दिन कैद सजाय र रु ५० लाख जरिवाना तथा गिरीलाई विसं २०७६ माघमा १५ दिन कैद सजाय र रु ५४ लाख ५० हजार जरिवाना हुने फैसला गरेको थियो । अदालतले उनीहरुलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कैद र सजाय हुने फैसला सुनाएको थियो । पक्राउ परेका दुवैलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँ पेश गरिएको प्रवक्ता महतोले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्