Skip to content
Shikhar Insurance
National Life

‘बीमा कम्पनीहरुको पुँजी ठूलो भयो, अब विदेशमा शाखा खोल्न दिन्छौं’

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवालले नेपाली बीमा कम्पनीहरुलाई बिदेशमा शाखा खोल्न दिने बताएका छन् । बीमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्दै उनले अब नेपाली बीमा कम्पनीहरुको पुँजी पर्याप्त भएकाले विदेशमा शाखा खोल्न दिने बताएका हुन् ।

“बीमक, बीमा मध्यस्थकर्ता र बीमितका सम्बन्धमा नियमावलीमा के कस्ता व्यवस्था हुन आवश्यक छ, त्यस सम्बन्धी सुझावको अपेक्षा गरिएको छ । बीमा नियमावली फराकिलो हुनुपर्छ, यसमा सबै विषयलाई समेट्नुपर्छ” अध्यक्ष सिलवालले भने, “नेपाली बीमा कम्पनीहरूको पूँजी बढ्दै गएको छ, त्यसलाई पनि हेर्नुपर्छ । नेपाली बीमा कम्पनीलाई विदेशमा शाखा खोल्न दिने विषयलाई नियमावलीमा समेटिनुपर्छ, यसमा कञ्जुस्याइँ गर्नुहुँदैन, बाटो खोल्दै जानुपर्छ । धेरै नेपाली कार्यरत रहेका देशमा नेपाली बीमा कम्पनीले शाखा खोल्न सक्छन् । विदेशी बीमा सर्भेयरलाई पनि नियमावलीमा समेट्नुपर्छ ।”

अध्यक्ष सिलवालले भने, “वर्षौंदेखि कार्यरत पुराना बीमा सर्भेयर र नयाँ सर्भेयर छनौटका सम्बन्धमा नियमावलीमा स्पष्ट व्यवस्था गर्नुपर्छ । बीमा अभिकर्तालाई बीमा कम्पनीले काम दिने भएकाले त्यसको जस अपजस पनि कम्पनीले लिनुपर्छ । खाइपाई आएको सुविधा घटाउन नपाइने कानूनी व्यवस्था छ, त्यसलाई ध्यान दिनुपर्छ ।” अध्यक्ष सिलवालले बीमा व्यवसायको विकास एवम् विस्तारका लागि बीमा ऐन, नियम र निर्देशिका पूर्णरूपमा पालना गरी अगाडि बढ्न बीमा कम्पनीहरूलाई निर्देशन समेत दिए ।

बीमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग समेत छलफल गरी प्राप्त सुझावहरूका आधारमा मस्यौदालाई अन्तिम रूप दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा नियमावलीले सम्बोधन गर्नुपर्ने विषयहरूका बारेमा संस्थागतरूपमा सात दिनभित्र लिखित सुझाव दिन आग्रह गरे ।
अध्यक्ष सिलवालले बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता लगायत सरोकारवालाहरूबाट प्राप्त सुझावहरू समेतका आधारमा बीमा नियमावली, २०७९ को मस्यौदालाई अन्तिम रूप दिई स्वीकृतिका लागि सरकारलाई बुझाइने जानकारी दिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा नियमावली, २०७९ को मस्यौदाको प्रस्तुती गरेका थिए । कार्यक्रममा विभिन्न बीमा तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले नियमावलीमा नेपाली बीमा कम्पनीले विदेशमा शाखा खोल्न पाउने सरल व्यवस्था गर्नुपर्ने, नेपालमा काम गर्ने विदेशी बीमा सर्भेयर र ब्रोकर सम्बन्धी स्पष्ट व्यवस्था हुनुपर्ने, पुनर्बीमालाई छुट्टै किसिमले हेरिनुपर्ने, नियमन शुल्क बुझाउन ढिलाई भएको अवस्थामा जरिवाना नभई ब्याज लाग्ने व्यवस्था गर्नुपर्ने, प्राधिकरणका प्रदेश कार्यालयका काम, कर्तव्य र अधिकार परिभाषित गरिनुपर्ने, बीमितले बीमा दाबी गर्न पाउने अवधि निश्चित गर्नुपर्ने, बीमा सर्भेयरको दक्षता अनुसार शुल्कको व्यवस्था हुनुपर्ने, संस्थागत अभिकर्ताका सम्बन्धमा अन्तराष्ट्रिय अभ्यास अनुसारको व्यवस्था गरिनुपर्ने, बीमितको नैतिक जोखिम सम्बन्धी व्यवस्था उल्लेख हुनुपर्ने, बीमा कमिशनको अधिकतम सीमा तोक्नुपर्ने लगायतका सुझावहरू दिएका थिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका संचालक समितिका सदस्यहरू, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक पूजन ढंगेल (अधिकारी) र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्