बेनी । अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताए ।
फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उनको भनाइ छ । ‘ँअहिले बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको छ, हरेक वर्ष बाँदरको हुल बढेका छन्, किसानको बारी बाँदर आतङ्कले रित्तिन थालेका छन्, बाँदर नियन्त्रणतर्फ सरकारले ध्यान दिनुपर्ने भएको छ’ उनले भने ।
जङ्गलबाट हुलका हुल बाँदर बगैँचामा पसेर सुन्तला सखाप पार्न थालेपछि स्थानीय चिन्तित बनेका हुन् । अहिलेसम्म ३० हजारभन्दा बढीको सुन्तलाका दाना बाँदरले क्षति गरिसकेको बरुवाल बताउँछन् । दिनभर फूलबारीमै धरालो बसेर धपाए पनि नटेर्ने बाँदरको प्रवृत्तिले आफूहरू ठूलो मारमा परिरहेको किसान सुबोध बरुवालले बताए ।
‘फलफूल र अन्नबाली सबै बाँदरले नष्ट गर्न थालेको छ, दु:ख गरेर लगाएको खेती सबैमा क्षति हुन थालेको छ, बाँदरको आतङ्क नियन्त्रण गर्न खोरपासो बनाएर राष्ट्रिय निकुञ्जमा पठाउनुको विकल्प छैन’ उनले भने । सुन्तला बगैँचामा बाँदरले निकै दु:ख दिएपछि स्थानीयले वडा र पालिकाको समेत ध्यानाकर्षण गराएका छन् ।
अन्नपूर्ण गाउँपालिका–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले बाँदर आतङ्क पछिल्लो समय किसानका लागि लागि ठूलो समस्या बनेर आएको बताए ।
‘बाँदर नियन्त्रणका लागि स्थानीयस्तरमा धेरै प्रयास भएका छन्, तर स्थानीयको प्रयास विफल भएको छ, राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउने मेसिन बनाएको सुनिएको थियो, अब मेसिन, उपकरण र प्रविधिकै प्रयोग गरेर भएपनि बाँदरलाई नियन्त्रण गर्नैपर्ने भएको छ’ वडाध्यक्ष खड्काले भने ।
घारको बिरौटा, झरपाट, बैँसरी, हल्लेखर्क, लुलाए, कुरमुनीलगायतका बस्तीमा व्यावसायिक रुपमा सुन्तलाखेती हुँदै आएको छ । करिब १५ हजारभन्दा बढी सुन्तलाका बोट लगाइएको घारमा वार्षिक करिब ४० देखि ५० लाख बराबरको सुन्तला बिक्री हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्