Skip to content
Shikhar Insurance
National Life

बाँझो जग्गाकाे उपयोग गरेर व्यावसायिक जुनेलो खेती सुरु

Hyundai
NCELL
NIMB

बलेवा । जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा व्यावसायिक जुनेलो खेती थालिएको छ । स्थानीय एक कृषि सहकारी संस्थाले बाँझो जग्गाको उपयोग गरेर व्यावसायिक जुनेलो खेती सुरु गरेको हो । कुश्मीशेराको फलाँटे कृषि सहकारी संस्थाले बाँझो जग्गामा व्यावसायिक जुनेलो खेती थालेको हो ।

कुश्मीशेराको झब्रीखेतमा रहेको १५ रोपनी बाँझो बारीमा जुनेलो लगाइएको सहकारीका अध्यक्ष मोतीप्रसाद शर्माले बताए । स्थानीयले जनशक्तिको अभावमा केही वर्षदेखि बारी बाँझो छाडिएको थियो । बाँझो जग्गा भाडामा लिएर सहकारीको उद्देश्यअनुसार खेती थालिएको शर्माले बताए ।

रैथाने बालीको संरक्षण र सहकारीमार्फत कृषक सदस्यको आय वृद्धिका लागि व्यावसायिक खेती थालिएको हो । गत जेठ महिनामा लगाइएको जुनेलोले यसै वर्ष उत्पादन दिनेछ । यो वर्ष पाँच क्विन्टल जुनेलो फलाउने लक्ष्य छ, बिरुवामा राम्रो भएका छन्, हामीले सोचेअनुसारकै उत्पादन हुन्छ, शर्माले भने “बर्सेनि उत्पादन लिन सकिने भएकाले हरेक वर्ष सहकारीलाई जुनेलोबाट आम्दानी जोडिनेछ ।”

जुनेलो खेतीका लागि सहकारीमा सदस्य रहेका तीन जना किसान क्रियाशील छन् । बीउ लगाउने, गोडमेल गर्ने र सिँचाइ गर्ने काममा सहकारीका सबै सदस्यले समान हिसाबले श्रमदान गरिरहेको अध्यक्ष शर्माले बताए । “यो वर्षको उत्पादनबाट हुने आम्दानी सहकारीको पुँजी वृद्धिमा लगाइनेछ, शर्मा भन्छन्, “अर्को वर्षदेखि हुने आम्दानी, खर्च कटाएर सहकारीका सदस्यले दामासाहीले पाउँछन् ।”

सहकारीले १ लाख खर्चेर १५ रोपनी बारी उपयोगमा ल्याएको हो । दश किलो बीउ ४ सय ५० प्रतिकिलोका दरले खरिद गरेर लगाइएको शर्माले बताए । यो रैथाने बाली हो, पहिले हामीलाई बीउ पाउनै कठिन भयो, उनि भन्छन्, “बजारमा बीउको अभाव छ, हामीले केही वर्ष बीउकैरुपमा उत्पादन गर्छौं र बिक्रीका लागि पनि सोहीअनुसारको बजारको खोजी भइरहेको छ ।”

केही वर्षअघिसम्म अस्मिता कृषक समूहमा आबद्ध भएर मूला तथा केराउको मूल बीउको व्यावसायिक उत्पादन गरेका कृषक सहकारीमा आबद्ध रहेकाले उनीहरुलाई बीउ उत्पादनको अनुभव र बजारको जानकारी रहेको शर्माले दाबी गरे ।

यो बाली रोपिएको करिब ६० दिनमै उत्पादन दिने र सिचाइँको सुविधा कम भएको तथा चिस्यान कम हुने माटोमासमेत उत्पादन हुने गर्दछ । कुनै समय नेपालको पहाडी क्षेत्रको मुख्य खाद्यबालीका रुपमा रहेको जुनेलो लगभग लोप हुने अवस्थामा पुगेको भन्दै सहकारीले संरक्षण थालेको हो ।

धार्मिक कार्य, पूजाआजा, अनुष्ठानमा प्रसादका साथै भोजनका लागिसमेत प्रयोग गरिने जुनेलो औषधिका रुपमा पनि प्रयोग गरिन्छ । जुनेलोको सेवनबाट पित्त, मूत्र तथा पेट सफा हुनुका साथै स्फूर्ति बढ्ने आयुर्वेदिक चिकित्सकको भनाइ छ । माग बढ्न थालेपछि पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा रहेका कृषक जुनेलो खेतीतर्फ आकर्षित बन्दै गएका छन् ।

होटल रेस्टुरेन्टमा पनि जुनेलोको परिकार बन्न थालेपछि यसको महत्व झन बढ्न थालेको छ । पहाडी भिरालो, खोरिया र रुखो जमिनमा सहजै उत्पादन गर्न सकिने भएपछि जुनेलोलाई खासै मेहनत पनि गर्नु पर्दैन । न्यानो हावापानी मन पराउने जुनेलो मकैजस्तै खाद्यान्न बाली हो ।

सहकारीले रैथाने बालीका रुपमा रहेका कोदो र फापरको ‘ब्राण्डिङ’समेत गर्ने योजनामा रहेको छ । सहकारीमा आबद्ध किसानले व्यक्तिगत खेतबारीमा उत्पादन गरिरहेको कोदो र फापरलाई सहकारीले खरिद गरेर पिठोको ब्राण्डिङ गर्ने योजना छ । रैथाने बालीको संरक्षण, बाँझो जग्गाको उपयोग र किसानलाई व्यावसायिक बनाउनका लागि सहकारी लागेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्