Skip to content
Shikhar Insurance
National Life

बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह

Hyundai
NCELL
NIMB

तनहुँ । तनहुँको बन्दीपुर पर्यटन बोर्डले पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको सौन्दर्यता र मौलिकतालाई कायम राख्न आग्रह गरेको छ । बन्दीपुरको पर्यटन प्रवर्दधनका निमित्त गठित बोर्डले मुख्य बजार क्षेत्रको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह गरेको हो ।

बोर्डका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरको सुन्दरता अवलोकनका लागि देश तथा विदेशबाट पर्यटक आउने गरेकाले यसको मौलिकता कायमै राख्नुपर्ने बताए । उनले भने ‘बन्दीपुर मौलिकताको सहर हो । यहाँ रहेका भक्तपुरे शैलीका घरहरु, संस्कृति अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक आउँछन् । यसका लागि सबै व्यवसायीको साथ आवश्यक छ ।’

बोर्डले ऐतिहासिक बन्दीपुर बजारमा रहेका घरमा भएका बाहिरी गल्ली (करिडोर) खुला राख्न आग्रह गरेको थापाको भनाइ छ । बोर्डले सम्बन्धित व्यवसायीहरुले पसल बाहिर सामग्री राखी बिक्रीवितरण नगर्न, प्रत्येक व्यापारी तथा होटल रेष्टुरेन्ट सञ्चालकले मूल्यसूची ग्राहकले देख्ने ठाउँमा अनिवार्य राख्न, बजार क्षेत्रका व्यापारिक प्रयोजनका लागि राखिने फ्लेक्स बोर्डहरु ३० दिनभित्र हटाई काठ वा हस्तलिखित बोर्ड राख्न आग्रह गरेको छ ।

सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

बन्दीपुरमा होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिलेजलगायत होटल सञ्चालनमा छ ।

बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेपछि पर्यटकलाई थप सहज भएको छ । गाउँपालिकाका अध्यक्ष थापाका अनुसार गन्तव्यबारे जानकारी नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्चलगायतका भाषामा तयार पारिएको छ ।

बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल) , बिन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्कलगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरकफरक भाषामा तयार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्