Skip to content
Shikhar Insurance
National Life

फस्टाउँदो सामुदायिक वनबाट आयआर्जन

Hyundai
NCELL
NIMB

गलेश्वर। हिमाली जिल्ला म्याग्दीमा विगत डेढ दशक अघिसम्म उजाड देखिएका डाँडापाखाहरु अहिले घना जङ्गलमा परिणत भएपछि उपभोक्ताहरुले वनबाटै आयआर्जन गर्नाका साथै वातावरण सन्तुलनमा पनि सहयोग पुगेको छ ।

विगतमा मानवीय लापरबाही, अनियन्त्रित वन फँडानी, खडेरी र डढेलोका कारणले उजाड बनेका वन जङ्गल फस्टाएर हराभरा भएपछि उपभोक्ताहरुले घाँस, दाउरा, जडीबुटी र अन्य वन पैदावरको उपयोग तथा बिक्री गरेर आयआर्जन गर्न सफल भएका बगरफाँट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिलबहादुर घिमिरेले बताए ।

वन फँडानी रोकिएर जङ्गल हराभरा हुन थालेपछि सुक्दै गएका पानीका मुहान तथा जरुवाहरुमा पनि पानी देखिन थालेको र पानीको मुहानसमेत बढेर गएको स्थानीय बासिन्दाको भनाइ छ । स्थानीय उपभोक्ताकै स्वामित्वमा रहेका सामुदायिक वनलाई अझ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने उद्देश्यका साथ जिल्लाका सामुदायिक वन समूहरु बेलाबेलामा सामूहिक छलफलमा जुट्ने गरेका सामुदायिक वन उपभोक्ता महासङ्घले जनाएको छ ।

सरकारी स्वामित्वमा रहेको वन तीव्ररुपमा विनास हुन थालेपछि सरकारले स्थानीय उपभोक्तलाई नै वन संरक्षणमा सहभागी गराउने उद्देश्यले सामुदायिक वनको अवधारणा ल्याएपछि उपभोक्ताहरु पनि यसरी सक्रिय हुन थालेका हुन् । गाउँमा सामुदायिक वन गठन भएपछि घाँसदाउरा लिन घण्टौँ भौँतारिनुपर्ने बाध्यताबाट मुक्ति मिलेको गोश्वारा सामुदायिक वन उपभोक्ता समूहका कृष्ण रिजालले बताए । जिल्लामा तीन सय ६७ वन समुदायमा हस्तान्तरण भएपछि हजारौँ उपभोक्ताहरु त्यसबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका सामुदायिक वन उपभोक्ता महासङ्घका पूर्वअध्यक्ष सीता गुरुङले बताइन् ।

सामुदायिक वनका उपभोक्ताहरु आफ्नो वनमा समयसमयमा वनका अनावश्यक बोटबिरुवा काँटछाँट गर्दछन् र त्यसैबाट उपभोक्ताहरुलाई आवश्यक काठ दाउरासमेत आउँछ । डिभिजन वन कार्यालयका अनुसार उपभोक्ता समिति गठन भएपछि स्थानीय उपभोक्ताहरुलाई घाँसदाउरा मात्र नभएर घर फर्निचर बनाउन आवश्यक परेको काठ पाउनका लागि पनि सजिलो भएको छ । सामुदायिक वन समूहरुले बढी भएको काठदाउरा बेचेर सामुदायिक वनको आयआर्जनमा समेत लागेका छन् ।

जिल्ला भित्रका कतिपय सामुदायिक वन समितिहरुले त स्थानीय विकासका लागि महत्वपूर्ण कार्यसमेत गर्दै आएका छन् । काठदाउरा बिक्रीबाट आम्दानी भएको सामुदायिक वन समितिको कोषको रकमबाट ग्रामीण सडक निर्माण, सामुदायिक सङ्घसंस्थाहरुलाई सहयोग, विपन्न तथा दलितवर्गलाई सहुलियत दरमा ऋण प्रवाहलगायत कामसमेत गरिएका छन् । जिल्लाका कतिपय सामुदायिक वन समूहले आफ्नो आम्दानीबाट कतिपय स्थानमा भौतिक पूर्वाधार विकासमा सघाउ पुर्याउँदै आएका छन् । आफ्नो क्षेत्रमा खानेपानीको समस्या समाधान गर्नका लागि आफ्नै स्रोतले खानेपानी योजना निर्माणका कामसमेत सञ्चालन हुँदै आएका छन् ।

त्यसैगरी केही सामुदायिक वनले आफ्नो क्षेत्र भित्रको सामुदायिक वनमा उद्यानसमेत बनाएर पर्यटक आकर्षित गर्न थालेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्