Skip to content
Shikhar Insurance
National Life

रौतहटमा २ अर्बको टायल उद्योग, २० प्रतिशत सस्तो : भारतीय बजारमा निर्यात योजना

Hyundai
NCELL
NIMB

काठमाडौं । रौतहटमा २ अर्ब लगानीको अत्याधुनिक टायल उद्योग खुलेको छ । हाइड्रोपावर क्षेत्रमा ठूला लगानीकर्ताका रुपमा चिनिएका आशिष गर्गको मुख्य लगानीमा रौतहटको बृन्दावन नगरपालिका ६ मा अत्याधुनिक टायल उद्योग स्थापना भएको हो । गर्ग हाल स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इपान)मा उपाध्यक्ष समेत छन् ।

उद्योगले सुरुमै ३ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको सञ्चालक गर्गले बताए । गर्गका अनुसार भुइँ र भित्ताका लागि सबै प्रकारको टायल उत्पादन गर्ने यो नै नेपालको पहिलो एकमात्रै र सबैभन्दा ठूलो टायल उद्योग हो । १० बिघा क्षेत्रफलमा फैलिएको उद्योगले इटालियन प्रविधिबाट पूर्णरूपमा स्वचालित ढंगले टायल उत्पादन गर्छ ।

भारतीय बजारमा नेपाली ब्राण्डका उत्कृष्ठ र गुणस्तरीय टायल निर्यात गर्ने योजनासहित रौतहटमा उद्योग स्थापना गरेको गर्गले जानकारी दिए । काठमाडौं–तराई मधेस द्रुतमार्गको निर्माणले आफ्ना टायलहरु सजिलै काठमाडौंमा बेच्न सकिने पनि उनको दावी छ । त्यसका अलवा पूर्वी नेपाल र पश्चिममा बुटवल तथा भैरहवासम्म बजार विस्तार गर्न सहज रहेको पनि उनले बताए ।

‘हामीले मध्य नेपालको आसपास पारेर उद्योग खोलेका छौं, केही वर्षपछि फास्ट ट्रयाक हुँदै काठमाडौंको बजारमा सजिलै पुग्न सकिन्छ, पूर्वी नेपाल र बुटवल तथा भैरहवासम्म जान पनि सजिलो छ, फेरि भारत निर्यातका लागि पनि सीमानजिकै उद्योग खोलेका हौं’, गर्गले भने । उनले हाल नेपालमा बिक्री भइरहेका टायलहरुभन्दा आफ्ना उत्पादन २० प्रतिशतसम्म सस्तो दरमा उपलब्ध हुने दाबी पनि गरे ।

सीएमएस ग्रुप र फर्चुन भेन्चर्सले प्राइम सेरामिक्स् प्रालिको नाममा २ अर्ब लगानी गरेर टायल उद्योग स्थापना गरेका हुन् । उद्योगको दैनिक उत्पादन क्षमता भने डेढ लाख वर्गफिट रहेको कम्पनीले बताएको छ ।

उद्योगमा विश्वमा सेरामिक प्रविधिमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनी (एसएसीएमआई) को मेसिनरी तथा प्रविधि प्रयोग गरिएको, उद्योगको उत्पादन गुणस्तरको हिसाबले कुनै पनि तवरले कम नरहेको र अन्य अन्तर्राष्ट्रिय ब्राण्डसँग समेत प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेकोको कम्पनीले जनाएको छ ।

हाल नेपालमा वार्षिक १५ अर्ब रुपैयाँ बराबरको टायल आयात हुने गरेको र चर्को ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल आमनेपाली उपभोक्ताका लागि अत्याधिक महँगो र पहुँचभन्दा बाहिर रहेको अवस्थामा यस उद्योगले देशको कुल खपतको लगभग एक–चौथाइ माग पूरा गर्ने, उद्योगले आयात प्रस्थिापन गर्ने, विदेशी मुद्रा बाहिरिनबाट रोक्ने, रोजगारीको सिर्जना गर्ने तथा स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातित टायलभन्दा १५–२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध हुने कम्पनीले जनाएको छ ।

स्वदेशमा उत्पादन हुने भएकाले उपभोक्ताले चाहेको बेला टायलको माग गर्न सक्ने, आर्किटेक्ट एवं डिजाइनरहरुले आफ्नो चाहनाअनुसारको डिजाइनसमेत विकास गर्न सक्ने तथा मूल्य पनि सस्तो हुने भएकाले आमनेपालीको सुन्दर घरको सपनालाई कुनै न कुनै तरिकाले यस उद्योगले पूरा गर्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

कम्पनीले एकै छानामुनि घरायसी, व्यापारिक, पूर्वाधार परियोजना तथा सार्वजनिक स्थल आदिमा प्रयोगका लागि हाल विभिन्न आकारमा २५० भन्दा बढीको डिजाइन भित्ता र भुइँमा लाग्ने टाइल्स् उत्पादन भइरहेको कम्पनीले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्