Shikhar Insurance
National Life

प्रसूति गृहको कुपण्डोलस्थित नयाँ भवनबाट स्त्रीरोग उपचार सेवा सुरु

सिंहदरबार संवाददाता
२०८१ मंसिर १७, सोमबार १७:११
Hyundai
NCELL
NIMB

काठमाडौं । परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले कुपण्डोलस्थित नयाँ भवनबाट स्त्रीरोग उपचार सेवा सुरु गरेको छ । नयाँ भवनमा यसअघि सुरक्षित गर्भपतन सेवालगायत सेवा सञ्चालन भइरहेकोमा अस्पतालले स्त्रीरोगको बहिरङ्ग सेवा पनि सुरुवात गरेको हो ।

नयाँ भवनको भूइँ तल्लामा सोधपुछ कक्ष, टिकट काउन्टर, औषधि बिक्री कक्ष, ओपिडी, भिडियो–एक्सरे, प्रयोगशालाको सुविधा रहेको छ भने पहिलो तल्लामा सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा सुविधा रहेको छ । साढे पाँच तल्लाको भवनको माथिल्लो तल्लामा छात्रावास रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले आइतबारदेखि नयाँ भवनबाट आंशिक रुपमा स्त्रीरोगको बहिरङ्ग सेवा सुुरु गरेको जानकारी दिए । उनले भने ‘नि:सन्तान तथा सुरक्षित गर्भपतन सेवा हामीले यसअघि सुरु गरिसकेका छौँ । हाललाई स्त्रीरोगको ओपिडी सेवा सुरु गरेका हौँ ।’

अस्पतालले यो नयाँ सेवाबाहेक नि:सन्तान उपचारलगायत गर्भपतन सेवा गत असार १६ गतेदेखि सञ्चालन गरेको थियो । डा अधिकारीका अनुसार थप स्रोत साधनको व्यवस्था भए अस्पतालले भविष्यमा थापाथलीबाट दिइरहेको स्त्रीरोगको सम्पूर्ण सेवा नयाँ भवनबाट दिइनेछ । उनले भने ‘अहिले सेवा सुरुवात मात्र गरेका छौँ । बिरामीको चाप हेरेर सेवा विस्तार गर्दै लान्छौँ । उपकरणहरु थप्नुपर्नेछ । स्रोत साधन थप्नका लागि स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने अठोट गरेको छ । व्यवस्थापन भएमा सम्पूर्ण सेवा यतै सार्ने छौँ ।’

आगामी दिनमा यही भवनबाट विशिष्टीकृत सेवा पनि सुरु गर्ने लक्ष्य रहेको डा अधिकारीको भनाइ छ । पाठेघर क्यान्सर, पिसाब चुहिने समस्यालगायत विभिन्न विशिष्टीकृत सेवा सुरु गर्ने लक्ष्य रहेको उनले बताए । नयाँ भवनबाट सेवा दिन थालिएपछि थापाथलीको मुख्य भवनमा सेवाग्राहीको चाप घट्ने र सेवा थप सहज हुने विश्वास गरिएको छ ।

स्त्रीरोग उपचारका लागि सरकारीस्तरमा एक मात्र केन्द्रिय ‘रिफरल’ अस्पताल रहेकाले पनि प्रसूति गृहमा बिरामीको चाप धेरै हुन्छ । दैनिक ८ सयदेखि हजार जनासम्म बिरामीले अस्पतालमार्फत सेवा लिने गरेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्