Skip to content
Shikhar Insurance
National Life

पुनः सुरु भयो बैंक विरुद्ध आन्दोलन, असुलीमा ज्यादती हुँदा उद्योगीले गठन गरे संघर्ष समिति

Hyundai
NCELL
NIMB

पोखरा । पोखराका उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाको धरपकड विरुद्ध संघर्षको घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार सम्पन्न भेलाबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संयोजक तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सहसंयोजक रहेको संघर्ष समितिसमेत गठन गरेको छ । बैंक तथा वित्तीय संस्थाले कर्जाका साँवा र ब्याजका लागि भइरहेका धरपकडविरुद्ध संयुक्त संघर्षका कार्यक्रमको घोषणा गरिएको हो ।

संघर्ष समितिमा पोखरा र लेखनाथस्थित विभिन्न वस्तुगत संघका अध्यक्षहरू सदस्य रहेका छन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीबाट साँझ–बिहान र रातमा पनि टेलिफोन गरेर मानसिक तनाव दिने, घर र पसलमै पुगेर बालबालिकाका सामु धम्क्याउने, पसलमा दिनभर बिक्री भएको पैसा बोकेर हिँड्ने काम भएपछि बाध्य भएर संघर्ष गर्ने निर्णय गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए।

संघर्ष समितिले बैंक तथा वित्तीय संस्थाबाट भएका यस्ता कामको सामूहिक प्रतिवाद गर्ने बताउँदै उनले कसैमाथि बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको भए संघर्ष समिति वा पोखरा र लेखनाथ उद्योग वाणिज्य संघलाई जानकारी दिन अनुरोध गरे ।

बैंक तथा वित्तीय संस्थाबाट एकाएक कर्जाको ब्याज बढाउँदा धेरै उद्योगी–व्यवसायी मर्कामा परेका र तनावकै कारण आत्महत्या गर्न बाध्य हुनुपरेको बताउँदै उनले ज्यादती तत्काल रोकिनुपर्ने बताए। विषम परिस्थितिम कुनै बैंक तथा वित्तीय संस्थाले कुनै व्यवसायीको धितो लिलामी प्रक्रिया अगाडि बढाए त्यसको पनि प्रतिकार गरिने बताउँदै अध्यक्ष प्रजापतिले समितिको आउँदो बैठकले संघर्षका थप कार्यक्रम र स्वरुप निर्धारण गर्ने जानकारी दिए।

भेलामा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले कुनै बैंक तथा वित्तीय संस्थाबाट धम्कीपूर्ण टेलिफोन र पत्र आए त्यसको जानकारी संघर्ष समिति एवं आफूलाई दिन आग्रह गरे । दुःख दिने बैंक तथा वित्तीय संस्थालाई परिआए एकमुष्ट लालपुर्जा लगेर बुझाइने उनले चेतावनी दिए ।

महासंघका केन्द्रीय सदस्य दामु अधिकारीले व्यवसायी उठ्नै नसक्ने अवस्थामा पुगेको बेला बैंक तथा वित्तीय संस्थाको सुदखोर व्यवहार मान्य नहुने बताउँदै कर्जाको समयसीमा बढाउन र ब्याजदर घटाउन माग गरे ।

लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम ढकालले बैंकहरूबाट कर्जामा एकाएक बढाइने ब्याजका कारण व्यवसायी मर्कामा परेको बताए। कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वसन्त उदास, वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य, लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव जानुका अधिकारीसहित विभिन्न वस्तुगत संघका अध्यक्ष तथा पदाधिकारीले आफ्नो धारणा राखेका थिए।

GBIME

प्रतिक्रिया दिनुहोस्